काठमाडौं – फोहोर लिएर बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा गएका ट्रकहरु स्थानीयबासीले फोहोर विसर्जनमा अवरोध गरेपछि काठमाडौं नै फर्किएका छन् ।
काठमाडौं महानगरपालिकाका अनुसार करिब डेढ सय ट्रक फोहोर बोकेर बन्चरेडाँडा गएका थिए । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले यसअघि सरकारसँग भएका सहमति पालना गरिनुपर्ने मागसहित बुधबार पनि आन्दोलन गरेपछि ल्यान्डफिलमा फोहोर विसर्जन हुन नसकेको हो ।
आज ठूलो संख्यामा स्थानीयवासी सडकमा उत्रिएर फोहोर बोकेका ट्रकहरूलाई उनीहरुले अवरोध गरेका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ३ सेल अश्रु ग्यास प्रहार गरेको थियो। स्थानीयवासीले अवरोध गर्न थालेपछि प्रहरीले उनीहरुलाई तितरबितर बनाउन अश्रु ग्यास प्रहार गरेको थियो ।
फोहोर विसर्जनका लागि सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरी घरघरमा धरपकडसमेत गरेको पीडितहरुले बताएका छन् । प्रहरीले बुधबार बिहानैदेखि माइकिङ गर्दै सडक अवरोध नगर्न स्थानीयलाई आग्रह गरेको थियो ।
पीडितहरुले पनि प्रहरीलाई आफूहरुको शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप नगर्न भन्दै माइकिङ गरेका थिए । त्यही बेला प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई हटाउन खोज्दा अश्रु ग्यास प्रहार भएको थियो ।
काठमाडौं महानगरपालिकाका अनुसार मंगलबार उपत्यकाबाट १५७ ट्रक ९करिब १२ सय मेट्रिक टन० फोहोर ल्यान्डफिल साइटमा लगिएको थियो । स्थानीयको अवरोधका कारण बन्चरेडाँडामा फोहोर विसर्जन हुन नसक्दा लामो समयदेखी काठमाडौंको सडकमा फोहोरको चाङ लागेको छ ।