प्रतिकात्मक तस्वीर

शिक्षा

त्रिविको ताला खोल्न अनेरास्ववियुको माग

By खबरहब

June 08, 2022

काठमाडौं- अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गरेको छ ।

आज अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै तीन दिनभित्रमा त्रिवि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गरेकी हुन् । उनले तीनदिनभित्र ताला खोली त्रिविको काम सञ्चालन नबनाए अनेरास्ववियुले आफैँ ताला फोडेर त्रिवि सञ्चालन गर्नेसमेत बताएकी छन् । त्रिविमा लगाएको ताला खोलेर सञ्चालन गर्न सरकार संवेदनशील नभएको उनको भनाइ छ ।

अध्यक्ष बरालले त्रिविमा पाँच महिनादेखि लगाइएको तालाले त्रिविलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउने सरकारको लक्ष्यलाई बाधा पुग्नेसमेत बताइन् । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घले माघ ७ गतेदेखि र आंशिक शिक्षकले माघ २० गतेदेखि तालाबन्दी गरेका छन् ।