फाइल तस्वीर

अन्तर्राष्ट्रिय

पाकिस्तानको बलोचिस्तानमा बारुदी धराप विस्फोट हुँदा २ जना मारिए

By खबरहब

June 08, 2022

काठमाडौं– पाकिस्तानको बलोचिस्तान प्रान्तमा बारुदी धराप विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ । बलोचिस्तानको हर्नाइ जिल्लामा भएको घटनामा दुई जनाको मृत्यु भएको पाकिस्तानी अखबार द एक्प्रेस ट्रिब्युनको अनलाइन संस्करणले जनाएको छ ।

हर्नाइ जिल्लाका उप आयुक्त सरदार मोहम्मद रफिकले जनाएअनुसार जिल्लाको खोस्त क्षेत्रमा घटना भएको हो । प्रमुख मार्गबाट कोइला खानीतर्फ जाने बाटोमा अज्ञात संदिग्धले बारुदी धराप राखेको जनाइएको छ ।

सोही बाटोबाट खानीतर्फ जाने क्रममा पीडितहरु चढेको ट्यांकरमा विस्फोट भएको ट्रिब्युनले जनाएको छ ।

मारिनेमा सोही जिल्लाका सलाहुद्दिन र मोहम्मद अली रहेको जनाइएको छ । मृतकको शवलाई परीक्षणका लागि अस्पताल लगिएको तथा आवश्यक प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा दिइने अधिकारीले जनाएका छन् ।

घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।