औषधी/उपचार

पाठेघर खस्ने समस्या, जोखिम र उपचार

By खबरहब

July 08, 2022

पाठेघर खस्नुलाई आङ खसेको भनेर पनि बुझिन्छ । धेरै महिलामा बच्चा जन्माएपछि स्याहारको कमी हुदाँ आङ खस्ने समस्या देखिन सक्छ ।

विशेषगरी धेरै बच्चा जन्माउने, जन्मान्तर अवधि कम हुने, सुत्केरी भएपछि पोषणयुक्त खानाको कमी हुदाँ, आरामको कमी, काम बढी गर्ने, तालिम प्राप्त नर्सको रेखदेखबिना घरमै सुत्केरी गराउने महिलामा पाठेघर खस्ने धेरै सम्भावना हुन्छ ।

नेपालमा ६० प्रतिशत महिलाले मात्र अस्पतालमा बच्चा जन्माउँछन्। ४० प्रतिशत महिला घरमै सुत्केरी हुने गरेका छन्। घरमा सुत्केरी गराउँदा तालिम प्राप्त नर्स नहुने हुदाँ छरछिमेकको सहयोगले जवर्जस्ती पेटमा थिच्ने, बल गर्न लगाउने गर्दा सानो पेटमै गम्भीर असर पर्छ। जसले पाठेघरमा असर गर्छ।

एउटा बच्चा जन्मेपछि ६ महिनामै अर्को गर्भ बोकेर फेरि बच्चा जन्माउँदा पनि पाठेघर खस्ने समस्या बढ्छ। महिलाको उमेर ५० वर्ष पुगेपछि प्रजनन् क्षमता तन्दुरुस्त राख्ने स्ट्रोजन हर्मोनको कमी हुन्छ। जसकारण पाठेघर असुरक्षित बन्न पुग्छ।

हालै नेपालमा भएको चिकित्सकीय अध्ययनले ६ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या देखाएको छ। नेपालको पहाडी, हिमाली भेगका महिलामा सबैभन्दा बढी पाठेघर खस्ने समस्या पाइन्छ।

पाठेघर खस्ने समस्यालाई कसरी बुझ्ने ?

पाठेघर खस्ने समस्या हाम्रो देशमा कमन कन्डिसन हा्े। पाठेघर अगाडिबाट पिसाब थैली र पछाडिबाट दिसा थैलीको बीचमा रहेको हुन्छ। यो अंग कुनै कारणले आफ्नो ठाउँबाट तल झर्यो भने पाठेघर खसेको भनिन्छ।

हाम्रो शरीरमा यसलाई सर्पोट गर्ने डिफ्रेन्ट मेकानिजम बनेको छ। यो मेकानिजममा गढबढी भयो भने पाठेघर खस्छ। पाठेघर फस्ट, सेकेन्ड, थर्ड डिग्री भनेर डिभाइड गरेको हुन्छ। फूट डिग्रीमा सुरुमा पुरै खस्दैन।

सुरुमा आफ्नो ठाउँबाट अलिकति खसेको हुन्छ। त्यो बेला पेसेन्टलाई डिसकम्फर्ट हुँदैन। किल्नीकल्ली हामीले हेर्दा देख्दैनौ। सेकेन्ड डिग्रीमा पाठेघरको मुखमै आएर केही चिज बसेको जस्तो किल्नीकल्ली हेर्दा पनि पाठेघरको तल्लो भाग बाहिरै देखिन्छ।

हामीले केही औजार बिनानै पाठेघर बाहिर निस्केको देख्छौ। नर्मली त्यो देखिनु हुँदैन। तेस्रो डिग्रीमा पाठेघर नै बाहिर झुन्डिएको हुन्छ। यसले पिसाब थैली र दिसाको थैलीलाई पनि सँगै तल तान्छ। पेसेन्टले आफ्नो योनीमार्ग बाट झरिरहेको छ भन्छन्। पाठेघर खसेको छ भने ढाड दुख्ने हुन्छ। योनीमार्गमा केही चिज झुन्डिएको जस्तो हुने र पेन महसुस गर्ने गर्छन्।

पाठेघर खस्ने कारण मुख्यत महिलाले सुत्केरी भएको अवस्थामा पौष्टिक तत्वको कमी भएमा, हाइजिन, फिजियोथेरापी, रिल्याक्सेसन गर्ने मसल्सको सर्पोट भएन भने पाठेघर खस्ने समस्या देखा पर्छ।

बच्चा जन्माउँदा सुरक्षित जन्मिएन या हस्पिटलमा जन्माइएन भने युट्रेसलाई सर्पोट गर्ने फेसिया, लिगामेन्टमा स्ट्रेस भएर पाठेघर खस्ने गर्छ। सामान्यतया बच्चा पाउँदा पाठेघरको मुख खुला नभइकन धेरै बल गर्यो भने असर पर्छ।

कहिलेकाहीँ पाठेघरको मुख खुल्दा पनि बच्चा निस्किएन भने मसल्स र लिगामेन्टमा असर परेर पाठेघर खस्ने गर्छ। बच्चा पाउँदा साल निकाल्न पनि धेरै बल गरियो भने पाठेघर खस्छ।

साथै, चुरोट खाने, खोक्ने र कुपोषण भएका महिलामा यो समस्या देखिन्छ। खोक्दा पेट भित्र धेरै बल पर्छ। महिनावारी सुकेका महिलामा हर्मोनल डिफिसेन्सी हुन्छ र मसल्समा असर पर्छ। यो समस्या पहिलेबाट भए पनि महिनावारी सुकिसकेपछि पनि देखिन सक्छ।

देखा पर्ने लक्षण सबै ढाड दुख्ने महिलाको पाठेघर खसेको हुँदैन। सुत्दा ढाड दुख्दैन भने त्यो पाठेघर खसेर भएको हुन्छ। छिटो, छिटो बच्चा जन्माउने, पोषणयुक्त खाना नखाने, हाइजिन मेन्टेन नगर्ने महिलामा बढी देखिन्छ।

पाठेघर खस्दा पिसाब थैली र दिसाको थैलीलाई पनि सँगै तल तान्ने भएकाले पिसाब गर्दा राम्ररी नहुने भएकाले छिटो छिटो पिसाब लाग्ने गर्छ। यस्तो हुदाँ उनीहरुलाई युटीआइको समस्या देखापर्छ। दिशा थैलीलाई पनि तल तान्ने भएकाले दिशा गर्दा धेरै बल गर्नुपर्ने हुन्छ। पाठेघर पुरै बाहिर निस्केको धेरै लामो समय भयो भने पुरै घाउ समेत हुने गर्छ। यसले रगत मिसिएको पानी बग्ने गर्छ।

हिड्न गाह्रो हुने, पासिएर घाउ हुने, रगत चुहिने समस्या देखा पर्छन्। यस्ता लक्षण देखापर्दा महिलालाई धेरै गाह्रो भइसकेको हुन्छ।

पाठेघर खस्ने समस्या वंशाणुगत पाठेघर खस्ने समस्यालाई दुई भागमा विभाजन गरीएको छ। (कन्जिनाइअल र अक्वाइड) अक्वाइडमा छिटो छिटो बच्चा पाउने, धेरै बच्चा पाउने महिलामा यो समस्या कमन हो। तर, अविवाहितको पनि पाठेघर खस्छ भने त्यो कन्जिनाइअल हुन्छ।

सपोर्ट गर्ने मसल्स जन्मजातै असर भएर पाठेघर झर्ने हो। अविवाहितमा पुरै पाठेघर खसेको हुँदैन। तर, पाठेघरको तल्लो भाग लामो भएर निस्केको हुन्छ।

कुन उमेर समुहका महिलामा बढी यो सबै उमेर समूहका महिलामा देखिन सक्छ। सुत्केरी महिला सँगै महिनावारी रोकिएपछि पनि यो समस्या हुने गरेको छ। सुत्केरी अवस्थामा पौष्टिक खानेकुरा खाने, शारीरिक व्ययाम गर्ने गर्नुपर्छ। धेरै भारी कुरा उचाल्नु हुँदैन। सुत्केरी अवस्थामा धेरै काम गर्दा पनि यो समस्या देखिन सक्छ।

सहरमा बस्ने महिलाले धेरै भारी बोक्ने काम नगर्ने भएकाले सहरमा बस्ने महिलामा यो समस्या कम देखिन्छ। गाउँघरका महिलाले भारी बोक्ने, सुत्केरी भएपछि छिट्टै घरको काम गर्ने भएकाले यो समस्या गाउँघरका महिलामा बढी देखिन्छ।

उपचार कसरी हुन्छ ? पाठेघर खस्ने समस्याको उपचार अप्रेशन हो। अप्रेशन गर्दा पाठेघरसँगै पिसाब थैली र दिसा थैलीको पनि अप्रेशन गर्नुपर्ने हुन्छ। कुनै महिलालाई विभिन्न मेडिकल कन्डिसनले जसलाई अप्रेशन गर्ने कन्डिसन हुन्छ।

उहाहरुलाई हामीले चुरा जस्तो कुरा योनीमा राखेर पाठेघर अड्काइदिन्छौ। यो स्थायी उपचार भने होइन। पाठेघर खस्ने समस्याको स्थायी उपचार भनेकै अप्रेशन हो।

समयमै उपचार नगर्दाको जोखिम समयमै उपचार गरिएन भने घाउ हुन्छ। धेरै महिला लामो समयसम्म उपचार नगरी सहेर बस्छन्। पछि रगत बग्न थाल्छ, तब मात्र उपचारको लागि आउने गर्छन्। पाठेघर खस्दाको पहिलो र दोस्रो चरणसम्म त्यति गाह्रो हुँदैन ।

तर, बाहिर निस्किएपछि गाह्रो हुन थाल्छ। यदि समयमै उपचार भएन र सरसफाइको अभाव भयो भने पाठेघरको मुखको क्यान्सर हुने सम्भावना अधिक हुन्छ ।

समस्या आउन नदिन के गर्ने ? पाठेघर खस्ने समस्याबाट बच्न हामीले पोषणयुक्त खाना खाने गर्नुपर्छ। बच्चा छिटो छिटो नजन्माउने, धेरै बच्चा नजन्माउने गर्नुपर्छ। बच्चा जन्माउदाँ सुरक्षित तरिकाले वा स्वास्थ्य संस्थामा गएर जन्माउनु पर्छ।

किशोरीहरुलाई पोषिलो खानाखुवाउने, महिलाको उमेर कम्तिमा २० बर्ष पुगेपछि मात्र बिवाह गर्ने, २० बर्षको उमेर पछी मात्र बच्चा जन्माउन गर्नुपर्छ। गर्भवती हुदाँ स्वास्थ्य जांच गराउने र सुत्केरी भएको ६ हप्ता सम्म आराम गर्ने, गह्र्रौ भारी नबोक्ने गर्नुपर्छ।

(प्रसूति रोग विशेषज्ञ डा. ममता बरालसँग विपना थापाले गरेको कुराकानीमा आधारित)