काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सले महिला सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।
महिला चेम्बरले आज आयोजना गरेको महिलालाई विभिन्न क्षेत्रको तालिमको उद्घाटन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्बरले महिला सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताए ।
उनले हाल सूचना प्रविधिको क्षेत्रमा घरमै बसेर आम्दानी गर्न सकिने थुप्रै विकल्प रहेकाले त्यसबाट लाभ लिन पनि उनले आग्रह गरे । महिलाद्वारा उत्पादित वस्तुको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने उनको भनाइ थियो ।
महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिलाको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताए । व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्त्वपूर्ण हुने उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले महिलालाई बजारको मागअनुसारको तालिम प्रदान गर्न आवश्यक रहेको बताइन् ।
महिला चेम्बरले पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टिङ, फेब्रिक पेन्टिङलगायतका विभिन्न छ वटा क्षेत्रमा तालिम प्रदान गर्न लागेको हो ।