फाइल फोटो

अन्तर्राष्ट्रिय

जापानी जनताका ‘राजकुमार’ सिन्जो आवे, जसको चुनावी सम्बोधनका क्रममा हत्या गरियो

By खबरहब

July 08, 2022

काठमाडौँ– जापानका लोकप्रिय नेता सिन्जे आवेको शुक्रबार गोली प्रहारबाट निधन भएको छ । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आवे आम नागरिकका विचमा निकै लोकप्रिय नेता थिए ।

दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाएका आवेले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिएका थिए ।

आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उनले आफ्नो जिम्मेवारीप्रति इमान्दार हुँदै राजीनामा दिएका थिए । राजनीतिमा प्रत्यक्ष भूमिकामा नदेखिने निर्णय गरेका लिवरल डेमोक्रेटिक पार्टीका नेता आवेले आफ्नो पार्टीलाई विजयी गराउन चुनावी सभामा सम्बोधन गरिरहेका बेला जिन्दगीबाटै विदा लिनुपरेको छ ।

आगामी आइतबार हुने माथिल्लो सदनको निर्वाचनका लागि देशको पश्चिमी क्षेत्रमा पर्ने नारा सहरमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला अज्ञात व्यक्तिको गोली प्रहारबाट उनको निधन भएको हो ।

सन् १९५४ मा जन्मिएका आवेको ६७ बर्षको उमेरमा निधन भएको हो । उनले सेइकेइ विश्वविद्यालयबाट सन् १९७७ मा स्नातक गरेका थिए । त्यसपछि उनले सन् १९७९ मा जापानकै नेतृत्वदायी स्टील उद्योग ‘कोबे स्टील’मा काम गरेका थिए ।

राजनीतिमा भने उनी सन् १९८२ मा तत्कालिन विदेश मन्त्रीको सहयोगी भएर प्रवेश गरेका थिए । उनी सन् १९९३ देखि निरन्तर नौ पटक सांसद भएका थिए ।

उनले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गरेका थिए भने सरकारी भूमिकामा मन्त्रीपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गरेका थिए ।

मन्त्रीपरिषद्मा भने २००५ मा उनले पहिलोपटक सहभागी हुने मौका पाएका थिए ।

उनी पहिलोपटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यतिबेला उनी जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए । अस्वस्थताका कारण त्यो कार्यकाल उनको २००७ सम्म मात्रै रह्यो । आन्द्राको समस्या देखिएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।

त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किएका आबे आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बने । उनले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पद स्वेच्छाले त्यागेका थिए । आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाएका थिए ।

आफ्नो मौलिक आर्थिक रणनीति र कट्टर राष्ट्रवादी नीतिका कारण उनको छुट्टै पहिचान बनेको थियो । उनको राष्ट्रवादी धारका कारण उनले चीन र दक्षिण कोरियासँग सुमधुर सम्बन्ध कायम गर्न सकेका थिएनन् ।

राजनीतिक विरासत बोकेको परिवारका सदस्य भई जनताका विचमा लोकप्रिय रहेकाले उनलाई ‘जनताका राजकुमार’को उपमा पनि दिइएको थियो । उनका बुवा शिनतारो आबे जापानको विदेशमन्त्री बनेका थिए भने हजुरबुवा नोबुशुके किशी प्रधानमन्त्री थिए ।