काठमाडौँ : एक समय थियो, कम्युनिष्टमा मध्यमार्गी धारलाई अंगालेको तर दोधारे कम्युनिष्टमा रमाएको नेकपा एमाले आफूलाई पहिलो शक्ति भन्थ्यो । तथ्यगत रुपमा २०७४ सालको चुनावलाई फर्किएर हेर्ने हो भने नेकपा एमाले केन्द्रदेखि प्रदेशस्तरमा अहिलेपनि पहिलो पार्टी हो ।
यो पहिलो पार्टी वा पहिलो शक्तिको रटान ओलीले गएको स्थानीय तहको चुनावमा धेरै लगाए । उनले बोल्ने हरेक बोली र मञ्चमा एमाले नै देशको पहिलो शक्ति बन्नेछ भनेर भनिरहे । उनले स्थानीय तहको जनप्रतिनिधि चुन्ने क्रममा एमालेले सबै स्थानीय तहमा चुनाव जित्ने ठोकुवा गरिरहेका थिए ।
तर परिणाम के देखियो भने ओली जहाँ जहाँ पुगेर भाषण गरे, जहाँ उनको भाषण सुन्न आम मानिसको ठूलै भेला पारियो, त्यहाँ नै एमालेका नेता कार्यकर्ताले स्थानीय तहको चुनाव हारे । सायद, त्यसैको असर हुनु सक्छ, पछिल्लो समय ओलीले गर्ने भाषणमा अबको चुनावमा एमाले नै पहिलो शक्ति बन्छ भन्ने ठोकुवा गर्न सकेका छैनन् ।
पहिले आफैँसँग मिलेको तर अहिले फूटेर कांग्रेससँग मिलेर सत्ता गठबन्धनमा रमाएको माओवादी केन्द्रको निर्णायक साथ नहुँदा सत्ता यात्रा कति जटिल छ भन्ने कुरा एमाले अध्यक्ष ओलीलाई ज्ञात भएको हुनुपर्छ ।
माओवादीको आडमा प्रचण्ड बहुमत पाएर सत्ताको दम्भ राखेका ओलीले कांग्रेसलाई हेर्ने दृष्टिकोण यति साँघुरो थियो, जुन अहिले उनलाई त्यो आफ्नो गल्ती भएको महसुस पनि हुनुपर्छ । उनले विगतजस्तो कांग्रेस, माओवादीलाई कम्तीमा गाली गर्न छाडेका छन् । हिजो आफैँलाई प्रधानमन्त्री बनाएका माओवादी अध्यक्ष प्रचण्डलाई पनि गालीको वर्षा गराउन छाडेका छन् ।
अहिले उनी आफू मात्रै सबथोक नभएको महसुस हुन थालेको हुनुपर्छ । अर्कोलाई मुख छाडेर गाली गर्ने ओलीले अहिले सत्ता गठबन्धनको विरोध गरिरहेका छन् । उनलाई थाहा छ, हिजो माओवादीसँग मिलेर वाम गठबन्धन बनाउँदा त्यसको फाइदा र सफलता जति भयो, अहिले त्यो छैन ।
एक अर्काको साथ सहयोग लिएर सत्ता स्वार्थ लुटिरहेका दलका नेताहरु जब आफू सत्ताबाट पाखा लाग्छन्, त्यसलाई हेर्ने दृष्टिकोण असाध्यै साँघुरो बनाउँछन् । अनि हिजो आफूले गरेका सबै काम राम्रा, अहिले अरुले गरेका सबै काम नराम्रा भनेर टिप्पणी गर्छन् । यो नेपाली राजनीतिक दलका नेता कार्यकर्ताको दिनचर्या भएकोमा शंका छैन । तर जति काम जसरी पनि भएको छ, त्यो जनताको हितमा त छैन नै, संवैधानिक संरचनाअनुसार व्यवस्थित र सिस्टमेटिक पनि छैन ।
यसले नेताहरुलाई व्यक्तिगत रुपमा क्षणिक तिक्तता ल्याउँला । तर दीर्घकालीन रुपमा यसको असर ठूलो छ । अनि आफूले सत्ता नपाएको झोक अरुमाथि पोख्ने, अर्कोलाई कमजोर देख्ने, आफू मात्रै सर्वशक्तिमान ठान्ने र सत्ताबाट बाहिर आउनेवित्तिकै फेरि सत्ताकै लागि र्याल चुहाउने प्रवृत्तिले नेताहरुलाई घाटाको व्यापार मात्रै गर्छ ।
अहिले ओली कम्तीमा विगतमा आफ्नै झर्कोलाग्दा भाषणबाट सच्चिएर आफ्नै कार्यकर्तामाझ एमालेलाई हार्ने छुट छैन भन्न थालेका छन् । कांग्रेसले सत्ताको नेतृत्व गर्दा माओवादीलाई फाइदा छैन भन्दै प्रचण्डसँग वाम एकताका लागि एमाले नेताहरुले छलफल चलाइरहेका छन् ।
जबसम्म नेपाली राजनीतिमा अर्कोलाई गाली गरेर, दोष थोपरेर, भाषणपिच्छे धारेहात लगाएर मात्रै आफ्नो, पार्टी र देशको विकास हुँदैन भन्ने चिन्तन पलाउँछ । अनि मात्रै नागरिकमा पनि नेताहरुबाट सकारात्मक आशा र अपेक्षा बढ्न थाल्छ ।
होइन भने अहिले हरेक नागरिकमा राजनीतिक पार्टीको मुख्य उद्धेश्य सत्ता भएको र सत्तामा पुगेपछि पैँसा मात्रै कमाउने लोभ बोकेका मानिसहरुमा यो आक्रोश झन् बढ्ने निश्चित छ । जसकारण रवि लामिछाने, बालेन शाह जस्ता स्वतन्त्र व्यक्तिमा जनलहर बढ्न सक्छ ।
यसलाई फेरि ओली समाज भँडुवाको आरोप लगाइरहेका छन् । तर उनको व्यक्तिगत स्वभाव, पार्टीगत उद्धेश्य र नागरिकमा आशा दिलाउने काम नभएमा रवि लामिछाने तथा बालेनहरुमा स्वभाविक रुपमा अहिलेको भन्दा झन् जनमत बढ्ने देखिन्छ । जसको ढिलोचाँडो घाटा ओलीसँगै प्रचण्ड र देउवालाई समेत हुनेछ ।
एमालेलाई संसदीय दलको चुनावमा कसरी जिताउने भन्ने चिन्ता ओलीलाई छ । त्यसमा अहिले प्रतिपक्षी दलका कार्यकर्तालाई चुनावी चिन्ता झन्क ति होला सजिलै अनुमान गर्न सकिन्छ । त्यसमाथि जनताले अब ओलीको भाषणलाई मात्रै पत्याउने स्थिती झनै छैन ।
यो अवस्थामा माधव नेपाल समेत फुटेर गएकाले एमाले अध्यक्ष ओलीले कम्तीमा सम्मानजनक प्रतिपक्षीको सिट पनि पाउँछन् कि पाउँदैनन् भन्ने शंका छ । यस्तो टिठलाग्दो अवस्थामा ओलीले फेरि आउँदो चुनावमा एमाले पहिलो शक्ति बन्छ भनेर कसरी भन्नू ? त्यो भन्दा एमाले पहिलो शक्ति बन्छ भन्ने भविष्यवाणी गर्ने मुख बन्द गर्नू नै ओलीका लागि उपयुक्त भएर मौन बस्नु उचित होला ।