मुख्य समाचार

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार

By खबरहब

August 08, 2022

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्: १. गठबन्धन सरकारले महँगी बाहेक केही दिन सक्दैन : पोखरेल नेकपा एमाले का महासचिव शंकर पोखरेलले वर्तमान पाँच दलीय गठबन्धनको सरकार नेपाली जनताको लागि अभिशाप भएको आरोप लगाएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले गठबन्धन सरकार लामो समयसम्म रहँदा देशलाई श्रीलंकाको बाटोतर्फ लैजाने आरोप लगाए। यो सरकार स्वार्थका लागि मात्र बनेको आरोप लगाउँदै मुलुकको आर्थिक ऋण अहिले खर्बौँमा पुगेको बताए।

महँगी दोब्बरभन्दा बढी वृद्धि भएको जनाउँदै उनले पुँजीगत खर्च लज्जास्पद भएको उल्लेख गरे।

२. प्रचण्डद्वारा पुष्प उद्यानको भ्रमण  जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधुनिक  पुष्प उद्यानको भ्रमण गरेका गरेका छन्। कृषि व्यवसाय सहयोग अन्तर्गतको कुरुसु अर्किड लिमिटेडमा रहेको आधुनिक फुल बगैँचाको  भ्रमण गरेका हुन् ।

भ्रमणको क्रममा अध्यक्ष दाहालले नेपाल कृषिप्रधान मुलुक भएको र कृषिमा आधारित उद्योगहरूको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहेको बताएका थिए।

३. सिंहदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलित  काठमाडौँको सिंहदरबारभित्रका निजामती कर्मचारीहरू आन्दोलित भएका छन् । अर्थ मन्त्रालयले बजेट घोषणा विपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।

उनीहरूले आज नासु बचाऊ अभियान’ को नेतृत्व गर्दे  ‘पेन डाउन’ गरेका छन् ।  सरकारले असमान तलब वृद्धि गरेको र प्रस्तावित संघीय निजामती सेवा ऐनको मागको सन्दर्भमा हामी वृहत् आन्दोलनको तयारी रहेको पनि आन्दोलनको नेतृत्व गरिरहेका प्रकाश भट्टराईले बताए ।

४. बिक्रेता प्रमाणपत्र खारेज अव्यवस्थित तरिकाले मट्टितेल बिक्री–वितरण गरिरहेका बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गन नेपाल आयल निगमले चेतावनी दिएको छ ।

निगमले आज एक सूचना प्रकाशित गर्दै मट्टितेल बिक्रेतालाई ३५ दिनभित्र तोकिए बमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाणसहित सम्बन्धित कार्यालयमा सम्पर्क गर्न  निर्देशन दिएको हो ।

 तोकिएको समयभित्र तोकिएको मापदण्ड पूरा गरी सम्पर्क गर्न नआउने मट्टितेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गरिने ब्यहोरा  चेतावनी समेत निगमले दिएको छ ।

 ५. उपत्यकाको फोहर काठमाडौँमै व्यवस्थापन गरिँदै काठमाडौँ उपत्यकाको कुहिने फोहर साउन अन्तिम सातादेखि यहीँ नै व्यवस्थापन सुरु गरिने भएको छ । पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै त्यस्ता फोहर यही नै व्यवस्थापन गर्न लागिएको हो ।

काठमाडौँ महानगरपालिकाले कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको हो ।

६. विद्युत् सर्ट हुँदा एक जनाको मृत्यु पर्वतको जलजला गाउँपालिका –७ मा विद्युत् सर्ट हुँदा एक जनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् ।

करेन्ट लागेर धारापानीकी ५० वर्षीया सीता क्षेत्रीको मृत्यु भएको हो । घरमा रहेको मिटरबक्स अफ गर्न जाँदा आज बिहान करेन्ट लागेर क्षेत्रीको मृत्यु भएको  हो ।

प्रसारण लाइनमा विद्युत् सर्ट भएर गाउँका सबै घरमा हाई भोल्टेज लाइन प्रसारण भएको स्थानीयले बताएका छन् । हाई भोल्टेज लाइनका कारण गाउँका करिब दुई सय घरधुरीका मिटरबक्स जलेका छन् ।

७. हेटौँडामा पाँच सवारीसाधन ठोक्किँदा १५ जना घाइते कवानपुरको हेटौँडामा एकै ठाउँमा पाँच वटा सवारीसाधन ठोक्किँदा १५ जना घाइते भएका छन् ।

आज बिहान हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

राजमार्गमा स्कुल बस, ट्रक, ट्यांकर, कार र लरी ठोक्किएका हुन् । दुर्घटना हुँदा विद्यार्थीहरूसहित १५ जना घाइते छन् । उनीहरूको हेटौँडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ ।

८. मदन पुरस्कारका लागि ८ पुस्तक छानिए मदन पुरस्कारका लागि ८ वटा पुस्तक छानिएका छन् । मदन पुरस्कार गुठीले आज २०७८ का लागि ८ वटा पुस्तकको सूची सार्वजनिक गरेको हो ।

सूचीमा नवराज लम्सालको अग्नि, दामोदर पुडासैनी ‘किशोर’को ग्रीष्मको निलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, नयनाथ पौडेलको लिच्छवि लिपि, निलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सतीः इतिहास र मीमांसा र पद्मसुन्दर जोशीको हिति प्रणाली रहेका छन् ।

९. हङकङमा अनिवार्य क्वारेनटिन बस्नु पर्ने   हङकङको सरकारले  विदेश भ्रमणबाट फर्केका नागरिकहरुले अनिवार्य क्वारेनटिन बस्नु पर्ने  नियम लागू गर्ने भएको छ ।

कोरोना संक्रमण दर पुनः बढ्न थालेपछि   हङकङ फर्केका नागरिकहरूलाई अनिवार्य ३ दिन होटेल क्वारेनटिनमा बस्नु पर्ने नियम लागू गरेको हो । सो नियम आउँदो शुक्रबारबाट लागु हुने प्रमुख कार्यकारी जोन लीलाई उद्धत गर्दै बीबीसीले जनाएको  छ ।

१०. ब्राजिलमा मार्सल आर्टका खेलाडीको गोली हानी हत्या   ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन एक खेलाडीको गोली हानी  हत्या भएको छ ।

ब्राजिलको साओपाउलो नाइट क्लबमा प्रहरीले हानेको गोली  लागेर मार्सल आर्ट खेलाडी लयन्द्रो लोको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् । ड्युटीबाहिर रहेका प्रहरीले उनलाई गोली हानेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

गोली प्रहार लगत्तै भागेका ती प्रहरीको खोजी भइरहेको छ ।