फाइल तस्बिर।

ब्रेकिङ स्टोरी

देशव्यापी तालमेलको पक्षमा कांग्रेस 

By खबरहब

August 08, 2022

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका नेताहरू देशभर तालमेलको पक्षमा देखिएका छन् । सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि कांग्रेसले सोमबार बिहान पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक राखेको थियो ।बालुवाटारमा बसेको बैठकमा नेताहरूले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् ।

‘कसले कति सिट पायो भन्दा पनि गठबन्धनका उम्मेदवारलाई कसरी विजय गराउने भन्नेमा ध्यान दिनुपर्छ भन्ने मत छ’, एक नेताले भने । नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीहरूले कम्तीमा १०० सिट राखेर चुनावी तालमेल गर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकले कम्तीमा १०० सिट राखेर मात्रै तालमेल गर्न सुझाव दिँदै सो सम्भव नभए गठबन्धन नगर्न सुझाव दिएका छन् ।

प्रवक्ता महतले भने पार्टीका तर्फबाट गठबन्धन कार्यदल रहेका सदस्यहरूलाई सुझाव दिनका लागि सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक राखेको बताए । उनले ०७४ सालको निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा पाएको मतलाई गठबन्धन निर्माणको आधार बनाउन सुझाव दिएको जानकारी दिए ।

‘आजै पाँच दलीय कार्यदलसँग छलफल छ । पदाधिकारी र पूर्वपदाधिकारीको सुझाव सल्लाह लिनका लागि सभापतिले बैठक डाक्नु भएको हो’, प्रवक्ता डा. महतले भने, ‘साथीहरूले आफूलाई लागेका सल्लाह सुझाव दिनु भएको छ ।’

उनले सुझाव दिने क्रम जारी रहेको भन्दै अहिले प्रारम्भिक सुझाव भएकाले ठोस रूपमा यति नै सिट भनेर सुझाव नदिएको बताएका छन् । ‘प्रारम्भिक बैठक हो । यहाँ सुझाव प्रारम्भिक मात्र आएका छन्’, प्रवक्ता महतले भने, ‘०७४ को चुनावमा, यसपालाको स्थानीय चुनावमा पाएको मतलाई आधार मान्न सुझाव आएका छन् ।’