देश/प्रदेश

हिमाली जिल्ला मुगुमा चामलको अभाव

By खबरहब

August 08, 2022

काठमाडौँ– हिमाली जिल्ला मुगुमा ठेकेदारले समयमै ढुवानी नगर्दा चामल अभाव भएको छ ।

आर्थिक वर्ष २०७८/७९मा खाद्यान्न ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाका प्रोप्राइटर अर्थात् चन्दननाथ नगरपालिकाका जुम्लाका उपप्रमुख रामदेवी खड्काले ११ हजार क्विन्टल खाद्यान्न ढुवानीको जिम्मा पाएको मध्ये ८ हजार १ सय क्विन्टल खाद्यान्न ढुवानी भएको र बाँकी २ हजार ९ सय क्विन्टल खाद्यान्न ढुवानी नगर्दा मुगुमा चामलको अभाव हुने संकेत देखिएको हो ।

खाद्यान्न अभाव देखिन थालेपछि हप्ताको आइतबार मात्र खाद्यान्न खुला हुँदा त्यहाँका नागरिकलाई सास्ती भएको छ । जिल्ला सदरमुकाम गमगढी बजारमा चामल मौज्दात भए पनि बजारको भन्दा ४ सय रुपौयाँ प्रति प्याक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल सस्तो हुने भएकाले चामल लिनेको निकै भीड हुने गरेको छ ।

उता संस्थानमा खाद्यान्न मौज्दात नहुँदा सास्ती भएको छायानाथ रारा नगरपालिका वडा नम्बर ५ की स्थानीय मायादेवी सुनारले बताइन । चामल प्रति २५ केजी प्याकको २ हजार १ सयदेखि २ हजार २ सयसम्म मूल्य तिरेर स्थानिय चामल खान बाध्य छन् ।