तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

सिरियामा पाँच तले भवन भत्किँदा ११ जनाको मृत्यु

By खबरहब

September 08, 2022

काठमाडौँ- सिरियाको उत्तरी सहर एलेप्पोमा पाँच तले आवासीय भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ ।

राज्यसञ्चालित समाचार संस्था सानाका अनुसार एलेप्पो सहरस्थित अल–फरदोस क्षेत्रमा पर्ने स्थानमा रहेको उक्त भवन भत्किएपछिको भग्नावशेषमा सात महिला, तीन बालबालिका र एक पुरुषको शव फेला परेको छ ।

एक महिला र बालकलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको बताइएको छ । घटनापछि अधिकारीहरूले नजिकका भवनहरु खाली गर्न लगाइएको बताइएको छ ।

भत्किएको भवन गैर कानूनी तरीकाबाट निर्माण भएको एलेप्पोका अधिकारीहरूलाई उद्धृत गर्दै सानाले जानकारी दिएको छ । सिरियामा वर्षौदेखि जारी युद्धका कारण एलेप्पो सहर ध्वस्त भएको छ ।

यस सहरमा शरणार्थी स्थलबाट फर्केका केही बासिन्दाहरू क्षतिग्रस्त वा आंशिक रूपमा मर्मत गरिएको भवनहरुमा बस्छन् ।