फाइल तस्वीर

देश/प्रदेश

पानी पर्नेबित्तिकै सडक अवरुद्ध हुँदा यात्रु मारमा

By खबरहब

September 08, 2022

काठमाडौँ- पानी पर्नेबित्तिकै फड्केश्वर–साँखु सडक अवरुद्ध हुँदा यातायातका साधन अलपत्र पर्नुका साथै यात्रु मारमा परेका छन् । काठमाडौँको शङ्करापुर नगरपालिका सेल्फी डाँडामा बाटो हिलो हुँदा यातायातका साधन पानी पर्नेबितिक्कै फस्ने गर्छन् ।

यहाँ अहिले सडकको काम भइरहेको छ । यस सडक हुँदै मेलम्ची, हेलम्बु, पाँचपोखरी तथा इन्द्रावती जाने सवारीसाधन चल्ने गरेका छन् । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले त्यहाँका जनप्रतिनिधि र ठेकेदारवालासँग पटकपटक सडक मर्मतका लागि आग्रह गर्दासमेत बेवास्ता गरेका कारण यस रुट हुँदै चल्ने सवारीसाधनले दैनिक यस्ता समस्या भोग्नुपरेको बताए ।

बुधबार गाडी फस्दा दिनभरि अलपत्र परेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका राम गोलेले गुनासो गरे । ठेकेदारले ध्यान नदिँदा यो ठाँउबाट गाउँगाउँ जाने र बेलैमा गन्तव्य पुग्नका लागि हिँडेका यात्रु बाटो बन्द भएसँगै मारमा परेका छन् । मेलम्ची नगर प्रमुख तामाङले यातायातका साधन सहजरूपमा आवतजावत गर्ने वातावरण मिलाउन सम्बन्धित निकायलाई आग्रह गरे ।

शङ्करापुर नगरपालिका प्रमुख रमेश नापितले ठेकेदार तथा सडक डिभिजन कार्यालयमै पटकपटक आग्रह गर्दा पनि काम नभएको बताए । ठेकदारले आफ्नो ठेक्का अवधि बाँकी रहेको भन्दै नटेरेको पनि नापितले बताए ।