काठमाडौँ- अष्ट्रेलिया नजिकै रहेको एउटा सानो टापुक्षेत्र चिनियाँ खरिदकर्तालाई बिक्री गर्न आफू तयार रहेको उक्त टापुका मालिकले जनाएका छन् ।
अष्ट्रेलिया नजिकै रहेको पपुवा न्यु गिनीको कन्फ्लिक्ट आइल्याण्ड्स नामक टापुक्षेत्र खरिद गर्न अष्ट्रेलिया तयार नभएपछि आफूले चिनियाँ खरिदकर्ताहरुसँग छलफल अघि बढाएको उक्त टापुका मालिक इयान गोवरी स्मिथले जनाएका छन् ।
चीनलाई बिक्री गरिएको खण्डमा अष्ट्रेलियामाथिको सुरक्षा चुनौति अझै बढ्न सक्ने सम्भावनाबीच अष्ट्रेलियाले उक्त टापु खरिद गर्ने इच्छा नदेखाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
रुसबाट प्रकाशित हुने रुसियन टाइम्सका अनुसार अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानिजले चीनलाई चुनौति दिन अष्ट्रेलियाले धेरै कामहरु गरिरहेको बताएपनि उक्त टापु भने खरिद नगर्ने जनाएका छन् ।
अष्ट्रेलियाका करदाताहरु उक्त टापु खरिद गर्न तयार नरहेको उनको भनाइ छ । मुँगाबाट बनेका विभिन्न स–साना २१ टापुहरु समावेश उक्त टापु क्षेत्र अष्ट्रेलियाको पूर्वी तटपारी पपुवा न्युगिनी र सोलोमन टापुनजिक रहेको बताइएको छ ।
यसअघि गत जुन महिनामा टापुका मालिक गोवरी स्मिथले अष्ट्रेलियाका तत्कालीन विदेशमन्त्री पेनी वङलाई ३ करोड ६० लाख अष्ट्रेलियन डलर अर्थात् २ करोड ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने प्रस्ताव गरेका थिए ।