ब्रेकिङ स्टोरी

जसको प्रभावले फेरिदैँछ चुनावी माहोल

By सुनिता भूल

November 08, 2022

काठमाडौँ : मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावको दिन नजिकिँदै जाँदा चुनावी माहोल तात्दै गएको छ । यसपटक कांग्रेस र माओवादीले गठबन्धन गर्दा देशैभर साझा उम्मेदवारको लर्को छ । एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका कारण पनि यतिबेला प्रतिपक्षमा सीमित बनेको नेकपा एमाले निकै कमजोर अवस्थामा छ ।

यसपटकको चुनावी माहोल स्वतन्त्र उम्मेदवारले गर्दा धेरै हदसम्म फेरिएको छ । स्वतन्त्र उम्मेदवारको चुनाव प्रचार र राजनीतिक दलका नेताहरूबाट वाक्क दिक्क भएका मतदाताको बढ्दो झुकावले यसपटक चुनावी माहोलसँगै निर्वाचन परिणाम पनि केही फरक आउने अपेक्षा छ ।

काठमाडौँमा यसपटक राजनीतिक दलका नेताहरूसँगै स्वतन्त्र उम्मेद्वार पनि चर्चामा छन् । काठमाडौँ क्षेत्र नं. १ मा प्रकाशमानसिंह र रवीन्द्र मिश्रको पनि कडा प्रतिष्पर्धा हुने अपेक्षा गरिएको छ । स्थानीय तहको चुनावमा कांग्रेसले हारेका कारण त्यसको घाटा स्वतः प्रकाशमानलाई देखिने चिन्ता छ ।

यस्तै रवीन्द्र मिश्रले विवेकशील साझा पार्टी छाडेर राप्रपा प्रवेश गरेका कारण काठमाडौँका पुराना राणा तथा राजावादीले उनलाई समर्थन गर्ने सम्भावना छ । यसले गर्दा यसपटक जित दोहोर्याउन प्रकाशमानसिंहलाई धेरै चुनौति देखिन्छ ।

गएको स्थानीय तहको भोट पनि यसपटक नभएकाले उनलाई जित्न र पुरानै नेताको ह्याङले गर्दा पनि मतदाताले रवीन्द्र मिश्रलाई रुचाउन सक्ने सम्भावना आँकलन गरिएको छ ।

यस्तै यतिबेला गोरखा २ पनि चर्चामा छ । जहाँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेद्वारी दिएका छन् । डा.बाबुराम भट्टराईले छाडेको चुनावी क्षेत्रमा प्रचण्डको प्रवेशले गर्दा धेरै चर्चा सुरु भएको छ । गोरखा २ बाट प्रचण्डले जित्ने सम्भावना बढेको देखिएपनि स्वयंम प्रचण्ड ढुक्क हुन सकेका छैनन् । उनी पटक पटक नेता कार्यकर्तामाझ माओवादी नेतृत्वलाई जिताउनुपर्ने रक्षा गर्नुपर्ने बताइरहेका छन् ।

आफूलाई हराउन देशी विदेशी शक्ति लागेको भन्दै प्रचण्ड ढुक्क भएर जित्छु भन्न सकिरहेका छैनन् । हार्ने डरले चितवन छाडेका प्रचण्ड गोरखामा प्रतिनिधिसभा यसपटक पनि देखिने सम्भावना धेरै छ । तर उनलाई कांग्रेसको भोट नआउने हो कि भन्ने चिन्ता भने थपिएको छ ।

यस्तै पछिल्लो समय सबैभन्दा धेरै माहोल फेरिएको चितवन क्षेत्र नं. २ हो । जहाँ एमालेबाट कृष्णभक्त पोखरेल, कांग्रेसबाट उमेश श्रेष्ठ र स्वतन्त्र पार्टीबाट रवि लामिछाने चुनावी मैदानमा छन् । टेलिभिजन कार्यक्रमबाट चर्चित भएका रवि लामिछाने धेरै सोच विचार गरेर चितवन २ मा पुगेका हुन् ।

उनको उम्मेद्वारी सुरुदेखि नै चर्चामा थियो । आफूले जित्ने सम्भावना देखेरै चितवन पुगेका रवि लामिछानेले सामाजिक सञ्जाल र राजनीतिक दलका नेताहरूको बेवास्ता गर्ने प्रवृत्तिले गर्दा यसपटक प्रतिनिधिसभामा नयाँ अनुहार देखाउने सम्भावना बढ्दो रहेको स्थानीय मतदाताको छ ।

यसअघि काठमाडौँको मेयरमा बालेन शाहले जितेपछि देशभर स्वतन्त्र उम्मेदवारको चर्चा र प्रभाव बढ्दो छ । त्यसैमा उदाएका युवा तथा राजनीतिबाहिरका उम्मेद्वार हुन्, रवि लामिछाने । लामिछानेले चुनाव जित्ने सम्भावना बढिरहेका बेला उनको स्वतन्त्र पार्टीभित्र पनि झन् चर्चा बढेको छ ।

यस्तै सुदूरपश्चिममा पनि चुनावी चर्चा बढ्दो छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पनि डडेल्धुरामा चुनाव लडिरहेका छन् । यो उनको सातौँ पटक हो । डडेल्धुरामा प्राय उनकै पक्षमा हुने चुनावले यसपटक पनि निरन्तरता पाउनेछ ।

देउवाले सुदूरपश्चिमबाट चुनाव जित्ने सम्भावना हुँदा भीम रावलले टिकट नै पाएनन् । डोटीमा सत्ता गठबन्धनका साझा उम्मेदवारका रुपमा प्रेम आले पनि चुनावी मैदानमा छन् । नेकपा एकीकृत समाजवादीबाट आलेले जित्ने सम्भावना नकार्न सकिन्न । तर यसका लागि एमालेको प्रतिष्पर्धा पनि कडा हुने देखिन्छ ।

यस्तै कर्णालीमा यसपटक राप्रपाबाट चुनाव लडिरहेका ज्ञानेन्द्र शाहीको चर्चा पनि ह्वात्तै बढेको छ । जुम्लामा माओवादी, कांग्रेस र एमाले प्रभावशाली हुँदा जनतालाई पटक पटक भ्रममा पार्ने नेताहरूविरुद्ध शाहीको उम्मेद्वारी बलियो बनेको छ ।

ज्ञानेन्द्र शाहीको उम्मेदवारीले चुनौति थपिएको सम्झिएका दलीय उम्मेद्वार कतै हारिने हो कि भन्ने चिन्तामा छन् । यसपटक चुनावले सबैभन्दा ठूलो चिन्ता केपी शर्मा ओलीलाई थपेको छ । संसद् विघटन गरेर आफैँले एमाले सिध्याउने बाटोमा लागेपछि यतिबेला एमालेलाई देशैभर जटिल देखिएको छ ।

तर पनि समय अझै बाँकी छ । जसले गर्दा मंसिर ४ गतेको चुनावी लडाइमा कुन नेता र उम्मेदवारले कसलाई हराउने वा जिताउने भन्ने अङ्कगणित सम्भावना बाँकी नै छ ।