खेलकुद

यु-१८ अन्तर्राष्ट्रिय रग्बी शनिबारदेखि

By खबरहब

December 08, 2022

काठमाडौँ – एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ। दुईदिने प्रतियोगतिाका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा रग्बी संघका महासचिव चेतनराज गिरीले जानकारी दिए। पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्यान्ड, युएइ, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्।

महिलामा नेपाल, भारत, युएइ, मलेसिया र थाइल्यान्डले राउन्ड रोविन लिगका आधारमा खेल्नेछन्। राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टोलीले पुनः उपाधिका लागि भिड्ने छन्।

रग्बी संघका अध्यक्ष दीपक देवकोटाले प्रतियोगिता सञ्चालन गर्न १ करोडमाथि बजेट खर्च हुने र त्यसमा ५७ लाख नेपाल रग्बी संघले व्यवस्थापन गर्ने जानकारी गराए। उनका अनुसार बाँकी रकम एसिया रग्बीले व्यहार्ने छ।

नेपाली टोलीको सम्पूर्ण खेल पोशाक गोक्यो वेयरले प्रायोजन गर्ने भएको छ। गोक्योका प्रोप्राइटर समिर केसीले कार्यवाहक अध्यक्ष देवकोटालाई पोशाक हस्तान्तरण गरे।