स्याउलाई एउटा पौष्टिक, गुनिलो र उपयोगी फलको दर्जा दिइन्छ । स्याउ मन नपराउनेहरुले पनि एप्पल मन पराएको दृष्टान्त तपाईं आफ्नो वरिपरिको परिवेशमा गज्जबले हेर्न पाउनुहुन्छ । हो, यसका लागि तपाईंसँग फुर्सद, स्याउ र एप्पलका विविध स्वरुपको ज्ञान भने हुनुपर्छ ।
अहिले फेरि एप्पलकै विश्वव्यापी चर्चा चुलिएको छ । कारण हो एप्पल पहिलो हुनु । एप्पल पहिलो हुन पुगेको यो पहिलोपटक होइन । आदम र इभ भन्ने कुनै जन्तुले एप्पलको लोभ संवरण गर्न नसकेर तपाईं र मैले आजका दिनसम्म दुःख पाइरहेका छौँ ।
मेरो कुरामा विश्वास नलागे भर्खरैका दिनमा एक बोरा चामल अथवा अन्य कुनै अपेक्षा पूरा भएर किश्चियन भई पल्टेको कुनै पनि धर्मबेचुवासँग सोधी हेर्नुस् । उसले बाइबलमा वर्णित यो प्रसंग बेली विस्तारसँग बुझाइदिन्छ ।
स्याउ अथवा एप्पलको महिमा यहीबाट शुरू भयो । इभले सर्पेन्टको कुरामा लागेर स्याउ नदारेको भए हामी सबै स्वर्गमै हुने थियौँ (Genesis 3:1-6) ।
एउटा स्याउले कतिसम्म गरेको रहेछ ! ख्वै त्यो परमात्मा भन्ने पनि कतिसम्मको क्रूर र निर्दयी रहेछ जाबो एउटा स्याउ खाएको सजा आफ्नो राज्यबाटै निष्कासन ! क्षमा गर्नु होला यो चरित्र त गब्बर सिंहभन्दा पनि जालिम भएन र ? कथा जस्तोसुकै र जेसुकै होस्, स्याउको महिमा भने प्रष्ट हुन्छ ।
एप्पल एकपटक चर्चाको केन्द्रमा न्यूटन महाशयका टाउकोमा खस्नाले पुनः आएको थियो । पश्चिमाहरुलाई पहिलोपटक थाहा हुन आयो, पृथ्वीमा त्यस्तो कुनै शक्ति छ जसले गर्दा सबै वस्तु पृथ्वीतिर तानिन्छन् ।
गुरुत्वाकर्षणदेखि प्रिन्सिपिया हुँदै (Philosophic Naturalis Principia Mathematica ) क्लासिकल मेकेनिक्सको अवधारणा प्रस्तुत गरेर न्यूटन एक प्रकारले ‘फादर अफ वेस्टर्न साइन्स’ नै बन्न पुगे । स्याउले न्यूटनलाई अमर नै पारिदियो । तर स्याउ खसेर जन्मिएको गुरुत्वाकर्षण भएर पनि के हो भन्ने, किन हो भन्ने कुरा अझै पनि आशंकाको घेरामा आइरहन्छ ।
२१ औं शताब्दी अर्थात् मेरो र तपाईंको समयमा पनि एप्पलले चमत्कार गरेको छ । एप्पल दुनियाँको पहिलो ३ ट्रिलियन डलर इकोनोमी बनेको छ । खबर मभन्दा पहिला नै तपाईंहरुले थाहा पाइसक्नुभएको होला । एप्पल नाम गरेको एउटा अमेरिकन कम्पनी मानव इतिहासमा पहिलो पटक ३ ट्रिलियनको चलखेल गर्ने हैसियतमा पुगेको छ ।
यस समाचारले यदि तपाईंलाई ‘कुछ कुछ होता है जस्तो’ भएन भने शायद तपाईंलाई ३ ट्रिलियनको महत्व नै थाहा छैन । अमेरिकन स्केलमा ट्रिलियन भनेको हाम्रो एक हजार अर्ब बराबरी हो ।
३ ट्रिलियन अर्थात् ३० खर्बलाई एकपटक डलरमा रूपान्तरित गरी हेर्नुस् । अहिले अमेरिकन डलर १ बराबरी झण्डै ११८ नेपाली रुपैयाँ हुन्छ । ३० गुणा ११८ बराबर ३ हजार ५४० खर्ब हुन आउँछ । हेरौँ त कति जति हुन आउँछ ३ खर्ब डलर ?
सन् २०२१ मा अमेरिकाको कुल कुल ग्राहस्थ उत्पादन (जीडीपी) २०.४९ ट्रिलियन डलर रहेको छ । चीन १३.४ ट्रिलियन डलरले अमेरिकालाई पछ्याइरहेको छ । ४.९७ ट्रिलियन डलरले जापान विश्वको तेस्रो अर्थतन्त्र बनेको छ । जर्मनी ४.०० ट्रिलियनको जीडीपीले चौथो नम्बरमा छ ।
मार्केट क्यापिटलको आधारमा विश्वका यी चारवटा देशपछि एप्पल कम्पनी उभिन आइपुगेको छ ।
यूके २.८३ ट्रिलियन, फ्रान्स २.७८ ट्रिलियन, भारत २.७२ ट्रिलियन, इटाली २.०७ ट्रिलियन, ब्राजिल १ .८७ ट्रिलियन,क्यानाडा १.७१ ट्रिलियन डलरको अर्थ व्यवस्था लिएर एप्पल कम्पनीभन्दा पछि परेका छन् ।
एक जनवरी २०२२ अर्थात् वर्षको पहिलो दिन आइफोन बनाउने एप्पल कम्पनीको शेयर मूल्य १८२.८८ डलर पुगेर समग्र मानवताको इतिहासमा कुनै प्राइभेट कम्पनीले पहिलोपटक ३ ट्रिलियन डलरको मार्केट क्याप छोएको थियो ।
विश्वको कुल अर्थ व्यवस्था (सबै देशको जीडीपी ) ९१.९८ ट्रिलियन डलर रहेको छ । यसमा एप्पल कम्पनीले ३ प्रतिशतभन्दा बढी दाबेदारी राख्छ ।
एप्पल कम्पनीले १ ट्रिलियन डलरको भ्यालु सन् २०१८ मा हासिल गरेको थियो । अगस्त २०२० मा कम्पनीले २ ट्रिलियनको लक्ष्मण रेखा पार गर्यो । सन् २०१९ को अन्त्यदेखि विश्व कोभिड–१९ को चपेटामा आएर बाच्नलाई संघर्ष गर्ने स्तरमा खस्यो भने एप्पल कम्पनीको उर्ध्वयात्रा जारी नै रह्यो । अगस्त २०२० देखि १६ महिनाको अवधिमा उसले ३ ट्रिलियनको मुकाम हासिल गर्यो ।
यो लेख्दै गर्दा एप्पल कम्पनीको शेयर खस्केर १७४.९२ डलरमा आइपुगेर यसको मार्केट क्याप २.८६९ ट्रिलियनमा आएको छ । तर, अझै पनि कम्पनी शीर्षमै स्थापित छ । अर्को कम्पनी माइक्रोसफ्ट २.३७५ ट्रिलियन डलरले दोस्रो, तेल उत्पादक कम्पनी साउदी अरामको १.९०३ ट्रिलियनले तेस्रो, गूगल अल्फाबेट १.८२७ ट्रिलियनले चौथो, अमेजन १.६६७ ट्रिलियनले पाँचौ र टेस्ला १.०९२ ट्रिलियन मार्केट क्यापले छैठौ नम्बरमा रहेका छन् ।
यिनका अतिरिक्त अन्य कुनै पनि कम्पनी ट्रिलियनको आँकडामा छैनन् । फेसबुक भने ९०१.७६ अर्बका साथ ट्रिलियनर बन्ने दौडमा छ ।
स्याउ भनौँ अथवा एप्पल साधारण कुरा होइन रहेछ । अनादि कालदेखि नै यसको महिमा रही आएकोमा २१ शताब्दीमा पुनः एप्पलले आफ्नो वर्चस्व गाथा प्रमाणित गरेको छ ।
विश्वका ६ वटा कम्पनीले आफुलाई ट्रिलियनर भनाउने सामर्थ्य राखे पनि व्यक्तिगत रूपमा यो श्रेय मानवताको इतिहासमा आजसम्म कसैलाई प्राप्त भएको छैन ।
टेस्ला, स्टारलिंक, स्पेसएक्स, न्यूरालिंक आदि कम्पनीका मालिक एलन मस्क २७८ अर्ब डलरको सम्पतिका साथ उभिए पनि ट्रिलियनर हुनुभन्दा धेरै पछाडि रहेका छन् । उनले ट्रिलियनर हुन अझै ७०२ अर्ब डलर जोड्नु पर्छ ।
अमेजन, स्पेस कम्पनी ब्लू ओरिजिन आदिका मालिक जेफ बोजेस १९० अर्ब डलर लिएर दोस्रो धनी कहलिएका छन् । फ्रेन्च उद्योगपति बर्नार्ड अर्नोल्ट १८५ अर्ब डलर, माइक्रोसफ्टका बिल गेट्स १३५ अर्ब डलर, गूगलका ल्यारी पेज १२३ अर्ब डलर, फेसबुकका मार्क जुकरबर्ग १२१ अर्ब डलर सबैको सम्पति जोड्दा मात्रै १ ट्रिलियन पुग्छ ।
गुगलकै अर्का मालिक सर्जे ब्रिन ११८ अर्ब डलर, माइक्रोसफ्टका अर्का व्यक्ति स्टीभ बाल्मर ११३ अर्ब डलर,वारेन बफेट ११३ अर्ब डलर, र अर्का अमेरिकन ल्यारी एलिसन १०७ अर्ब डलर बाहेक अन्य कसैसँग १०० अर्ब डलर सम्पति पुगेको छैन । भारतीय उद्योगपति मुकेश अम्बानी ९३ अर्ब डलर लिएर विश्वको १२ औँ नम्बरको धनीमा पर्छन् । विश्वमा पहिलो ट्रिलियनरको उपाधि कसले पाउँछ यो समयकै गर्भमा लुकेको छ । तर, यति भने स्पष्ट भइसकेको छ अब पृथ्वीमै व्यापार गरेर ट्रिलियनर हुन मुश्किल हुनेछ ।
स्पेस माइनिंग, स्पेस टूरिज्म, ऐस्टेरोयड उत्खनन, अन्य ग्रह उपग्रहको यात्रा तथा दोहन गर्नेले नै यो श्रेय हासिल गर्ने प्रतिस्पर्धा प्रारम्भ भइसकेको छ ।
सन् २०२१ मा जसरी विभिन्न अरबपतिले अन्तरिक्षलाई महत्व दिएर गतिविधि गरे त्यसले आउने एक दशकभित्र नै अन्तरिक्ष उद्योगका अनेकौँ शाखा प्रशाखा विस्तारित हुने पद चिन्ह देखापरेका छन् ।
पृथ्वीमा भने ‘एआई’ (आर्टिफिसियल इन्टेलिजेन्स), ऊर्जाको दीर्घ वैकल्पिक स्रोत, ‘स्टेम सेल थेरपी’ र मानव अंग उत्पादन, ‘भर्चुअल रियालिटी’ क्षेत्रका इन्टरप्रेनरले बाजी मार्छन् ।