राजनीति

एमाले रसुवाको अध्यक्षमा लामा दोहोरिए, अरु पदाधिकारी पनि सर्वसम्मत

By खबरहब

January 09, 2022

रसुवा – एमाले रसुवाको अध्यक्षमा कन्र्याल लामा पुनः दोहोरिएका छन् । शुक्रबारदेखि सुरु भएको आठौ जिल्ला अधिवेशनले लामालाई पुनः जिल्ला अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्षमा डिल्ली सुवेदी, सचिवमा जनार्दन ढकाल, सहसचिवमा कैसाङ नुर्पु तामाङ, बेली बुलुन चयन भएका छन् । उनीहरू सर्वसम्मत चयन भएका हुन् ।

नयाँ नेतृत्व चयनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरिएको थियो । माधव अर्यालको संयोजकत्वमा छोवाङ तेन्जिन तामाङ, कुलप्रसाद भट्ट, तेब्रेल तामाङ, सरिता लम्साल सदस्य रहने गरी निर्वाचन कमिटी गठन गरिएको थियो ।

एमाले रसुवामा ९० सदस्यीय नयाँ कार्यसमिति चयन हुने बताइएको छ । अध्यक्षका लागि कर्णेल लामा र अशोक घिमिरेले दाबी गरेका थिए । राति अबेरसम्म भएको छलफलपछि लामा निर्विरोध चयन भएका हुन् ।

जिल्लाभरिबाट पाँच सय ५६ जना प्रतिनिधि नयाँ नेतृत्व चयनका लागि सहभागी थिए ।