फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा हिजावमाथिको प्रतिबन्ध डरलाग्दो : मलाला

By खबरहब

February 09, 2022

नयाँ दिल्ली – नोबेल शान्ति पुरस्कार विजेता मलाला युसफजाइले भारतमा कक्षा कोठामा हिजाव लगाउन पाउने अधिकारका निम्ति आन्दोलन गरिरहेका ६ विद्यार्थीको पक्षमा बोलेकी छन् । हिजावमाथिको प्रतिबन्धलाई मलालाले डरलाग्दो भनेकी छन् ।

‘हिजाव लगाएर छात्राहरुलाई विद्यालय जान अनुमति नदिनु डरलाग्दो हो,’ २४ वर्षीया मलालाले ट्विट गरेकी छन् । मलालाले मुस्लिम महिलाहरुको सीमान्तकरण रोक्न भारतीय नेताहरुलाई आह्वानसमेत गरेकी छन् ।

कलेजमा हिजावमा प्रतिबन्धको विरोधमा कर्नाटक राज्यमा किशोरीले केही सातादेखि आन्दोलन गरिरहेका छन्। हिजाव विवादले राज्यभित्र धार्मिक तनाव बढेको छ। विरोधपछि विभिन्न स्थानमा भएका झडपपछि तीन दिन विद्यालय र कलेज बन्द भएका थिए ।

सो विवाद भारतका राष्ट्रिय पत्रपत्रिकाको मुख्य शीषर्क बनेको थियो । विवाद राज्यको उच्च न्यायालयसम्म पुगेको छ । हिजाव लगाउनु भारतको संविधानले सुनिश्चित गरेको धर्मसम्बन्धी आधारभूत अधिकार भएको तर्क गर्दै एक विद्यार्थीको तर्फबाट अदालतमा मुद्दा दायर भएको छ ।

एउटा माध्यामिक विद्यालयको व्यवस्थापनले कक्षा कोठामा हिजाव लगाउन प्रतिबन्ध लगाएपछि किशोरीहरु त्यसको विरोधमा प्रदर्शन सुरु गरेका थिए । बालिकाहरुको शिक्षाका पक्षमा वकालत गरेको भन्दै सन् २०१२ मा पाकिस्तानका तालिवानले मलालालाई गोली हानेर गम्भीर घाइते बनाएका थिए ।