ब्रेकिङ स्टोरी

प्रेम र युद्धको कसीमा पल र पुटिन

By कुसुम भट्टराई

March 09, 2022

काठमाडौं- मिडियामा यतिबेला दुई जना पात्रको व्यापक चर्चा छ। रुसका राष्ट्रपति भ्लादीमीर पुटिन र नेपालका नायक पल शाह। पुटिन यूक्रेनमाथिको आक्रमणका कारण बदनाम छन्, पलको चर्चा ‘नाबालिकासँग प्रेमका बहानामा गरिएको बलात्कार’ को सन्दर्भमा भइरहेको छ।

चलचित्र, साहित्य र राजनीतिमा समेत एउटा चर्चित भनाइ बारम्बार उधृत गर्ने गरिन्छ, ‘प्रेम र युद्धमा सबथोक जायज हुन्छ।’ यदि यो मान्यतालाई सही मान्ने हो भने, पुटिन र पल दुबैका हर्कतलाई जायज मान्नुपर्ने हुन्छ। तर, आजको विश्व चेतनाले युद्ध र प्रेममा सबथोक जायज हुन्छ भनेर मान्दैन। युद्ध या प्रेम दुबैमा निर्दोषमाथि अन्याय, अत्याचार र धोखाधडी गर्न मिल्दैन।

महाभारत युद्धमा भगवान कृष्ण मात्र होइन, स्वयं पाँच पाण्डवले धेरै अनैतिक छलछाम गरेका छन्। युधिष्ठिजस्ता धर्मराजले समेत दोर्णाचार्यको वध गर्दा छलकपट गरे।

‘अश्वत्थामा’ नामक हात्ति मरेको घटनालाई दोर्णाचार्य पुत्र अस्वत्थामाकै वध भएको भान पार्ने गरी ‘अश्वत्थामा हतोहतः’ भन्दै गलत सूचना दिइयो। पुत्रको निधनको शोकमा दोर्णाचार्यले धनु बिसाए, त्यही मौकामा उनको हत्या गरियो।

दोर्णाचार्यले आफ्नो छोराको बध भएको सूचना अरुको मुखबाट सुनेको भए पत्याउँदैनथे, तर युधिष्ठिर सत्यवादी भएकाले उनको मुखबाट उच्चारित ‘अश्वत्थामा हतोहतः’लाई उनले पत्याए। यद्यपि, यस्तो धोखाधडीका लागि सुरुमा युधिष्ठिर तयार थिएनन्। कृष्णले नै त्योबेला युधिष्ठिरसँग भनेका थिए,

‘स भवांस्त्रातु नो द्रोणात् सत्याज्जयायोनृतं वच :। अनृतं जीवितस्यार्थे वदन्न सपृश्यतेनृर्तेः।।’

(हामीलाई तपाईं दोर्णबाट बचाउनुस्। योबेला असत्य वचनको महत्व सत्यभन्दा ठूलो छ। कसैको प्राण रक्षाका लागि यदि कसैले असत्य नै बोल्यो भने पनि यसलाई असत्य बोलेको पाप लाग्ने छैन–महाभारत, दोर्णपर्व।)

भगवान कृष्णले आफ्नो अवतारी जीवनमा प्रेम पनि गरे, युद्ध पनि रचाए। प्रेम होस् या युद्ध, कृष्णले अनेक जायज/नाजायज हर्कत गरेका छन्। तलाउमा नुहाइरहेका चेलीहरुको कपडा लुकाइदिने, रुखको हाँगामा बसेर लुकीलुकी तिनका नग्न तन नियाल्ने, गोपीनीसँग रास लिला रचाउनेलगायत अनेक उटपटयाङ काम गरे।

युद्धमा पनि उनले भिष्म मार्न शकुनीको छल गरे। कर्ण मार्न रथको चक्का नै धसाइदिए र रथबाट उत्रिएकै योद्धामाथि प्रहार गरे। दुर्योधन मार्न भिमलाई उनको तिघ्रामा हान्न इशारा गरे। अर्जुन संकटमा पर्दा सूर्यलाई छेकिदिएर युद्ध रोकिदिए। यस्ता अनेक नाजायज हर्कत महाभारतमा नभएका होइनन्। तैपनि सत्य र धर्मको रक्षार्थ भएकाले सारा अनैतिक हर्कतलाई ‘जायज’को बिल्ला भिराइयो।

दर्शनले भन्यो, कृष्णका लागि युद्ध कर्तव्य हो, प्रेम स्वभाव। हिंसा भनेको भौतिक काटमार र रक्त बहाव होइन, मनोविज्ञान हो। हिंस्रक मनोवृत्ति नै खासमा हिंसा हो। कुरुक्षेत्रमा भिष्मदेखि दोर्णाचार्यसम्मको बध हुँदा कृष्ण अहोभाव र आनन्दीत मुद्रामा देखिन्छन्। कृष्णका लागि विशुद्ध प्रेम भावले कसैले कसैको हत्या नै गर्छ भने पनि त्यो हिंसा मानिदैन, तर कलुशित मन र वासनाले ओतप्रोत भएर कसैले कसैलाई प्रेम नै गर्छ भने त्यो हिंशा हो। पितामह भिष्ममाथि असंख्य वाण हानेपछि अर्जुनले दुबै हात जोडेर प्रणाम गर्छन् अनि अर्जुनको हातबाट मर्न पाउँदा भिष्ममा पनि अहोभाव जाग्छ।

अहिले रुसी राष्ट्रपति भ्लादीमिर पुटिनले यूक्रेनमाथि गरिरहेको आक्रमण न त धर्म संस्थापनका लागि हो, न यसले सत्यको पक्षपोषण गर्छ। शक्ति राष्ट्रको दम्भ प्रदर्शनको अन्धो होड मात्र हो। यसैले त पुटिनले यूक्रेनका मानव वस्तीमासमेत बम खसाइरहेका छन्। अहिलेसम्म ४० भन्दा बढी यूक्रेनी बालबालिका मारिएका छन्। निर्दोष नागरिक मारिने क्रम जारी छ। वर्षौं लगाएर निर्माण गरिएका सुन्दर सहरलाई खण्डहरमा परिणत गरिएको छ।

बाली झुलीरहेका खेतमा बम र मिसाइल खसिरहेका छन्। आकाशमा बारुदका काला धुवाँले प्राकृतिक सौन्दर्यलाई कुरुप बनाइरहेको छ। पलपलमा बज्ने साइरनले यूक्रेनका जनताको मुटु एक्कासी धडकिन्छ। एक्काइशौं शताब्दीमा पनि मानव चेतना यति क्रूर, अमानवीय र एक हदसम्म पाशविक हुनुलाई जायज मान्न सकिन्न।

भगवान कृष्णले आफ्नो अवतारी जीवनमा प्रेम गरे, युद्ध पनि रचाए। प्रेम होस् या युद्ध, कृष्णले अनेक जायज/नाजायज हर्कत गरेका छन्। तलाउमा नुहाइरहेका चेलीहरुको कपडा लुकाइदिने, रुखको हाँगामा बसेर लुकीलुकी तिनका नग्न तन नियाल्ने, गोपीनीसँग रास लिला रचाउनेलगायत अनेक उटपटयाङ काम गरे।

विश्व मानव सभ्यताले पुटिनको युद्ध शैलीलाई जायज मान्दैन। युद्धका नाममा हिटलरले लाखौं युहुदीलाई ग्यास च्याम्बरमा थुनेर मार्नु क्रूरता थियो। जापानले पर्ल हार्बरमा आक्रमण गरेर हजारौं अमेरिकनलाई मार्नु अमानवीय थियो। अमेरिकाले जापानको हिरोशिमा र नागासाकी सहरमा परमाणु बम खसालेर हजारौंको एउटै चिहान बनाउनु इतिहासकै आलोचित कदम थियो। भलै यो आक्रमणबाट दोश्रो विश्वयुद्ध रोकियो, तैपनि त्यो जायज थिएन। अहिले त्यही परमाणु बम पडकाउने धम्की दिएर पुटिन विश्वलाई आतंकित पारिरहेका छन्। अनि कसरी भन्ने, ‘प्रेम र युद्धमा सबथोक जायज’ हुन्छ ?

‘यूफ्यूइज्म’को प्रभाव महाभारत युद्धका क्रममा जे जति हर्कत भए, खासमा ति पनि जायज थिएनन्। तर, कृष्णले युद्धको औचित्य साबित गर्न जे जे तर्क दिए, त्यसमा कताकता ‘यूफ्यूइज्म’ पाउन सकिन्छ। उनले युद्धलाई सत्य र धर्म रक्षाको आवरण ओढाइदिए।

बीपी कोइरालाले आफ्नो चर्चित कृति ‘मोदी आइन्’मा सो युद्धको औचित्यबारे गम्भीर दार्शनिक प्रश्न उठाएका छन्। सबै कुरा माया नै हो, मान्छेको चोला आत्माले कपडा बदले सरह हो भनेर मान्ने हो भने पनि युद्धमा मारिएका हजारौं योद्धाका पत्नीको रोदन, संवेदना र रिक्तता पनि त सत्य हो। कृष्णको गीताले पनि युद्धमा मानिसले भोगेका पीडालाई असत्य या माया साबित गर्न सक्दैन्।

कृष्णकै मुखारबिन्दुबाट भागवत गीता श्रवण गरेका अर्जुनले त त्यो बुझेनन् र आफ्नो विराट स्वरुपकै दर्शन नै दिनुपर्‍यो। युद्धको औचित्य साबित गर्ने कृष्णका जटिल दर्शन नबुझ्ने आम सर्वसाधारणका लागि युद्धले दिएको पीडा, वियोग र बेदनाको सापेक्षिक सत्यलाई कसरी जायज ठह¥याउन सकिन्छ ?

बाली झुलिरहेका खेतमा बम र मिसाइल खसिरहेका छन्। आकाशमा बारुदका काला धुवाँले प्राकृतिक सौन्दर्यलाई कुरुप बनाइरहेको छ। पलपलमा बज्ने साइरनले यूक्रेनका जनताको मुटु एक्कासी धडकिन्छ।

अतः ‘यूफ्यूइज्म’मा झैं कृष्णले भने, ‘सत्य र धर्मको रक्षार्थ शस्त्र उठाउ अर्जुन, आफ्नो स्वधर्म पालन गर।’ सत्य र धर्मको लेपन गर्नासाथ कृष्ण र पाँच पाण्डव मात्र बाँचेर अरु सबैको एकै चिहान भएको महाभारत युद्ध पनि जायज ठहरियो।

‘यूफ्यूइज्म’ सन् १५८० तिरबाट साहित्यमा चल्तीमा आएको एउटा धार हो। यो यस्तो धार हो, जसमा लेखकले कुनै पनि अप्रिय/प्रिय सन्दर्भ या घटनाको वर्णन सोझै गर्दैन। कसैको मृत्यु भयो भने लेखकले ‘मृत्यु भयो’ भनेर लेख्दैन। उसले घुमाउरो कुरा गर्छ। अर्थात् उसले ‘फलानो चीर निद्रामा गयो’ भनिदिन्छ। कुनै मान्छे सर्वांग नग्न छ भने लेखकले ‘नांगो’ भनेर लेख्नुको साटो ‘वस्त्रहीन’ लेखिदिन्छ, जसले अवस्थालाई समान्यीकरण गरिदिन्छ।

नेपालका राजनीतिक नेताहरु आफूबाट गल्ती भएकोमा ‘क्षमा माग्छु’ भन्दैनन्, उनीहरुसँग ‘यूफ्यूइज्म’वाला शब्द छ, ‘आत्मालोचना’। ‘क्षमा याचना’ शब्दले क्षमा माग्नेलाई कमजोर बनाइदिन्छ, तर ‘आत्मालोचना’ चाहिँ उ गर्वका साथ गर्छ।

नायक पल शाहले पनि ‘यूफ्यूइज्म’को सहारा लिएको देखिन्छ। १८ वर्ष मुनिकी नाबालिक गायिकामाथि शारीरिक सम्बन्ध राख्नु कानुनतः जर्बजस्ती करणी हो। यसलाई उनी जर्बजस्ती करणी स्वीकार्न तयार छैनन्। विभिन्न अडियो क्लीप हेर्दा ‘सहमतिमै रिलेशनशीप भएको’ भन्ने उनको जिकिर देखिन्छ। ‘सहमतिमै रिलेशनसीप’ शब्द सुन्दा त राम्रो सुनिन्छ, तर सारमा यो जर्बजस्ती करणी हो।

हामीकहाँ अचेल आपराधिक शब्दलाई पनि तथाकथित सभ्य समाजका नाममा ‘माइल्ड’ बनाउने गरिएको छ। यो एक हदसम्म सामाजिक न्याय, समानता र आत्मसम्मानका हिसाबले उचितै होला। वेश्यालाई ‘यौनकर्मी’, हिजडालाई ‘तेश्रो लिंगी’, अन्धोलाई ‘दृष्टिविहिन’ आदिजस्ता सम्यक र सम्मानजनक शब्दको प्रयोग गर्न थालेका छौं, यो उचित पनि हो। ‘नछुनी हुने’लाई मासिक धर्म, सम्भोगलाई यौन सम्पर्क या शारीरिक सम्पर्क भन्नु पनि उचित नै हो। जस्तोसुकै बदमास किन नहोस्, ‘अभियुक्त’, ‘आरोपी’ शब्दले उसलाई शालिन पहिचान दिन्छ।

लेखक लिलीले प्रेम र मित्रताबीचका यस्ता अनेक जटिलतालाई उपन्यासमा दर्शाउन खोजेका छन्। र, यही उपन्यासमा भनेका छन्, ‘प्रेम र युद्धमा सबथोक जायज हुन्छ।’

बलात्कार गर्नेलाई बलात्कारी, हत्या गर्नेलाई हत्यारा, चोरी गर्नेलाई चोर, डकैती गर्नेलाई डाँका र भ्रष्टाचार गर्नेलाई भ्रष्टाचारी नै भन्नुपर्छ। यस हिसाबले सहमतिमै भएको किन नहोस्, नाबालिकमाथि यौन सम्पर्क राख्ने पनि बलात्कारी नै हो।

प्रेम र विवाहको प्रलोभन देखाएर कुनै चेलीको शरीरमाथि खेलबाड गर्नेप्रति समाजले नेता या अभिनेता भएकै आधारमा अतिरिक्त दया भाव देखाउनु जरुरी छैन। यस्ता प्रकरणमा बदनामी र बेइज्जती भोग्नुपर्ने पिडकले हो, पीडितले होइन। अतः कुनै पनि बहानामा यस्ता प्रकरणलाई जायज ठह¥याउन सकिदैन।

पंक्तिकार बारम्बार ‘यूफ्यूइज्म’को चर्चा किन गरिरहेको छ भने जघन्य अपराध गर्ने सेलीब्रेटी, शक्तिमा पहुँच भएका र ठूलाबडालाई घुमाउरो भाषा र बहानामा चोख्याउने गरिएको छ। पंक्तिकारले आफ्नो पत्रकारिता जीवनमा बलात्कारका केही यस्ता घटना पनि दबाइएको पाएको छ, जसमा पहुँचवालाकै संलग्नता थियो। या त पीडितलाई बयान फेर्न लगाइयो, या कार्वाही सामसुम पारियो।

अहिले पनि बलात्कार मुद्दामा आर्थिक प्रलोभन, शक्तिको डर त्रास, धम्की, इज्जत जाने भय र पीडितको विवशताको फाइदा उठाएर बलात्कारी उम्कने गरेका छन्। बलात्कारको पीडा कुन हदसम्म भयानक हुन्छ भन्ने दृष्टान्त त भारतकी चर्चित डाँकु फुलनदेवी (हाल दिवंगत)कै जीवनीमा स्पष्ट छ।

बलात्कार घटनामा बेइज्जेती हुनुपर्ने त बलात्कारीको हो, तर पीडितमाथि झन् पीडा दिने खालका होहल्ला र ‘लविङ’ चलिरहेका छन्। पल शाहको पक्षमा नाराबाजी र जुलुसमा उफ्रनेहरुको मानसिकताले ‘नारी नै चरित्रहीन’ भन्ने साबित गर्न खोजिरहेको छ।

सात वर्षको उमेरमा विवाह गर्न विवश फुलनदेवीमाथि उसको कामपिपासु पतिले योनीबाट रगतका धारा बग्ने गरी बलात्कार गर्छ। त्यसपछि उनीमाथि समाजका ठाकुर भनाउँदा, प्रहरी अधिकारीदेखि बदमासहरुले कलिलै उमेरमा पटक–पटक बलात्कार गर्छन्। अन्ततः त्यो पीडा, अपमान र बेइज्जतीको विष्फोटक विद्रोह हुन्छ र एउटी सोझी नारी खुंखार डाँकु हुन्छीन्, बदला लिने नाममा।

प्रेमको नाटक या विवाहको प्रलोभनमा पारेर ‘बालापनको उमेर’मा रहेकी र बालापनकै महिमा गाउने गायिकामाथि सहमतिमै शारीरिक सम्पर्क राख्नु फूलनदेवी माथिको अत्याचारभन्दा कुन हिसाबले कम मान्न सकिन्छ ?

बलात्कृत नारीको संवेदना पक्कै यो पंक्तिकारले सम्बोध गर्न नसक्ला, तर अनुमान लगाउन चाहिँ सक्छ कि हरेक बलात्कृत नारीको पीडा र बेदना उस्तै हुन्छ। पक्कै, यो बेदनाको महसुस त्यतिबेला नभएको हुनसक्छ, जतिबेला घटना भयो। विवाह र प्रेमको बाचा तोडिएको या तोडने नियत प्रकट भएको क्षणमा एकाएक नारीले आफूमाथि बलात्कार भएको महसुस गर्न सक्छिन्। विवाह नगर्ने, तर शरीरमाथि खेलिरहने नियत बुझेपछि उनले बलात्कार बोध गर्नसक्छिन्।

केही साता या महिना यो कुरा आफ्ना माता पिता या साथीलाई भन्न नसक्लिन्, सकेसम्म इज्जतको मोहले मनको पीडा मनमै दबाउन विवश हुन सक्छिन्। जब असह्य हुन्छ, तब लोकको कथित इज्जतको मापदण्डलाई उपेक्षा गर्दै उनी उजुरी लिएर प्रहरीकहाँ जान्छिन्। आजका सचेत र शिक्षित नारी बलत्कारीसँग बदला लिन टाउकोमा रातो फेटा र हातमा बन्दुक लिएर डाँकु बन्दैनन्, उनीहरु कानूनको अस्त्र चलाउँछन् भन्ने एउटा दृष्टान्त हो, अहिलेको चर्चित बलात्कार प्रकरणको मुद्दा। अतः यसलाई ‘यूफ्यूइज्म’को सहारामा विषयान्तर गर्नै मिल्दैन।

‘यूफिस’को गलत सन्देश पाँच सय वर्ष पहिले एकजना जोन लिली नाम गरेको लेखकले आफ्नो उपन्यास ‘यूफिस, अटोनोमि अफ वीट’मा लेखिदिए, ‘प्रेम र युद्धमा सबथोक जायज हुन्छ।’

प्रेम र मित्रतामा नाजायज हर्कत घोल्ने पात्रहरुको कथा हेरौं। उपन्यास ‘यूफिस’मा यूफिस नाम गरेको एउटा यूवा हुन्छ, जो एथेन्स सहरमा बस्छ। एकदिन उ इटालीको ‘नेपल्स’ सहरमा पुग्छ। त्यहँ यूफिसको भेट फिलाटस नाम गरेका अर्का युवासँग हुन्छ। उनीहरु असल मित्र बन्छन्।

अब उनीहरुको मित्रतामा लुसिला नामक युवतीको प्रवेश हुन्छ। लुलिसा प्रेमी बदल्दै बहु पुरुषसँग सम्बन्ध राख्ने एक चालवाज केटी हुिन्छन्। लुसिलाको ‘सहमतिमै रिलेशनसीप’ फिलाटससँग चलिरहेको हुन्छ।

हुन त, कुनै पनि व्यक्तिलाई उसको मुहारबाट होइन, उसको चरित्रबाट मूल्यांकन गर्नुपर्ने हो। तर, लुसीलालाई देख्नासाथ युफिस एकाएक आकर्षित हुन्छ। यूफिसले आफूलाई मन पराएको थाहा पाएपछि लुसिला पनि मौजुदा प्रेमी फिलाटस्लाई धोका दिन्छिन्।

एकातिर यूफिस र फिलाटेशको गाढा मित्रता कायमै छ, अर्कोतिर यूफिस् र लुसिलाको अफेयर पनि सुरु हुन्छ, जसलाई उनीहरु नाजायज ठान्दैनन्।

प्रेममा सबथोक जायज हुँदैन। जसरी अनैतिक रुपबाट जितेको युद्धको कुनै अर्थ हुँदैन, त्यसैगरी प्रेम या मित्रताका नाममा गरिएको नाबालिकसँगको यौन सम्पर्क बलात्कार नै हो।

लुसिलाका पिता डोन फेराल्डो जब आफ्नी छोरीले प्रेममा धोखाधडी गरेको देख्छन्, तब उनी स्तब्ध हुन्छन्। छोरीको चरीत्रहीनता देखेपछि हृदयघातबाट पिताको निधन हुन्छ। अर्थात् उनी चीर निद्रामा जान्छन्।

यूफिस् र फिलाटससँग लुसिलाको प्रेम सम्बन्ध समानान्तर रुपमा चलिरहेकै हुन्छ। यसैबीच लुलिसाको जीवनमा क्यूरियो नाम गरेका तेश्रो युवाको प्रवेश हुन्छ। लुसिलाले क्यूरियोसँग पनि सम्बन्ध राख्न थाल्छिन्। लेखक लिलीले प्रेम र मित्रताबीचका यस्ता अनेक जटिलतालाई उपन्यासमा दर्शाउन खोजेका छन्। र, यही उपन्यासमा भनेका छन्, ‘प्रेम र युद्धमा सबथोक जायज हुन्छ।’

यस्तो पक्कै होइन। यूफिसले आफ्ना अनन्य मित्र फिलाटसकी प्रेमिका लुसिलासँग ‘सहमतिमै रिलेशन’ राख्नु हुँदैनथ्यो। लुसिलाले पनि फिलाटसलाई धोका दिनु हुँदैनथ्यो। अनि क्यूरीयोसँग पनि सम्बन्ध राख्नु हुँदैनथ्यो। तर, लुसिलाको चरित्र नै त्यस्तै छाडा। समस्या यस्तै छाडा चरित्रबाट उत्पन्न हुने हो।

यो उपन्यासमा लेखकले एउटा नारी पात्रलाई ‘चरित्रहीन’ देखाएका छन्। पाँच सय वर्षअघिको पितृसत्तात्मक चेतले चरीत्रहीन केवल नारी मात्र हुन्छन् भन्ने ठान्यो होला भनेर मान्न सकिएला। तर, नायक पल र गायिकाको मौजुदा सन्दर्भमा पनि नेपाली समाजको चेतनाले नारीलाई नै दोष दिइरहेको पाइन्छ।

बलात्कार घटनामा बेइज्जेती हुनुपर्ने त बलात्कारीको हो, तर पीडितमाथि झन् पिडा दिने खालका होहल्ला र ‘लविङ’ चलिरहेका छन्। पल शाहको पक्षमा नाराबाजी र जुलुसमा उफ्रनेहरुको मानसिकताले ‘नारी नै चरीत्रहीन’ भन्ने साबित गर्न खोजिरहेको छ।

बलात्कारलाई कुनै पनि कोणबाट जायज सावित गर्न सकिदैन। प्रेममा सवथोक जायज हुँदैन। जसरी अनैतिक रुपबाट जितेको युद्धको कुनै अर्थ हुँदैन, त्यसैगरी प्रेम या मित्रताका नाममा गरिएको नाबालिकसँगको यौन सम्पर्क बलात्कार नै हो। मानव सभ्यताको आजको सामाजिक व्यवस्थाले प्रेम र युद्धको आचारसंहिता निर्धारण गरिसकेको छ। के नैतिक र के अनैतिक हो, त्यसको साझा मापदण्ड स्थापित गरिसकेको छ। युद्ध र प्रेम दुबैमा नैतिकता, शील अनि सम्यक आचरण र मर्यादा स्थापित छ।

युद्ध र धोका दुबै नाजायज सन् २०१३ मा प्रदर्शीत बलिउड चलचित्र ‘जोली एलएबलबि’को सिक्वेलमा वकिलको भूमिकामा रहेका अभिनेता अक्षयकुमार भन्छन्, ‘यो संसारको सबैभन्दा ठूलो मुर्खले भनेको थियो कि प्रेम र युद्धमा सबथोक जायज छ..यदि यसो हो भने सीमामा सैनिकहरुको टाउको काटनेहरु पनि जायज हुन्, युवतीमाथि एसीड प्रहार गर्ने प्रेमी पनि जायज हुन्।’

यदि लेखक जोन लिलीको उपन्यासमा भनिए झैं ‘प्रेम र युद्धमा सबथोक जायज’ हो भने ‘जनयुद्धका नाममा भएको सत्रौं हजारको संहार पनि जायज मानौं। गौर नरसंहार पनि जायज मानौं। अहिले युक्रेनमा पुटिनले वृद्धवृद्धा, बालबालिका र महिलामाथि वर्षाइरहेको गोला बारुद र हत्यालाई पनि जायज मानौं।

काम वासना गाढा भयो भने चाहिँ प्रेम कमजोर बन्छ। प्रेमलाई प्राथमिकतामा राखेमा वासना गौण हुन्छ। वासनालाई प्राथमिकतामा राख्यौं भने त्यो कुनै पनि बेला बलात्कारमा परिणत हुन्छ।

यदि प्रेममा सबथोक जायज हो भने, प्रेमिकाका हत्यारालाई पनि जायज मानौं। आफूले मन पराएकी केटी नपाएको झोंकमा अम्ल प्रहार गर्नेलाई पनि जायज मानौं। अनि ‘सहमतिमै रिलेशनसीप’का नाममा नाबालिक माथि जर्बजस्ती करणी गर्नेहरुलाई पनि जायज मानौं र जोन लिलीको उपन्यासमा झैं ‘यूफ्यूइज्म’को आवरणले त्यसलाई सामान्य घटनामा परिणत गरौं।

पंक्तिकार भन्छ, प्रेम र युद्धमा सबथोक जायज हुँदैन। युद्ध त कुनै पनि कोणबाट जायज होइन। प्रेममा चाहिँ विश्वास, समर्पण र इमानदारिता हुनैपर्छ। प्रेम गाढा हुँदै गयो भने बरु यौन घटित हुनसक्छ, तर यसलाई मर्यादामा राख्न उमेरको ख्याल गर्नुपर्छ।

यदि काम वासना गाढा भयो भने चाहिँ प्रेम कमजोर बन्छ। प्रेमलाई प्राथमिकतामा राखेमा वासना गौण हुन्छ। वासनालाई प्राथमिकतामा राख्यौं भने त्यो कुनै पनि बेला बलात्कारमा परिणत हुन्छ। प्रेममा के जायज हो, के नाजायज भन्ने कुरा यसमै निर्भर छ।