राजनीति

सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधिबीच शिष्टाचार भेट

By खबरहब

March 09, 2022

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटासँग फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच ७३ वर्षदेखिको कूटनीतिक सम्बन्ध सुमधुर र उदाहरणीय रहेको बताएका छन् ।

उनले कोभिड– १९ विरुद्ध लड्न फ्रान्सले चिकित्सा क्षेत्रमा र कोभ्याक्स अन्तर्गतको सहयोगका लागि फ्रान्स सरकार र फ्रान्सेली जनतालाई धन्यवाद ज्ञापन गरेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

 जलवायु परिवर्तनका कारण सिर्जित समस्या सम्बोधनका लागि फ्रान्सको भूमिका महत्वपूर्ण हुने बताउँदै सभामुख सापकोटाले सन् २०१५ को पेरिस सम्झौता स्मरणीय रहने बताएका थिए । भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिकले दुई देशबीच आपसी सहयोग र सहकार्यका लागि छलफल गरेर क्षेत्र छनोट गर्न सकिने उल्लेख गरेका छन्  ।