अन्तर्राष्ट्रिय

विश्वभर आजः यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम

By खबरहब

March 09, 2022

आज फागुन २५, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च ९, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

रुस र युक्रेनबीच एक दिने युद्धविरामको सहमति रुस र युक्रेनले एक दिनको युद्धविराममा सहमति जनाएका छन् । यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ । मस्कोले बुधबार बिहान ९ देखि बिहीबार बिहान ९ बजेसम्म युद्धविरामको सम्मान गर्ने वाचा गरेको छ । जसमा किभ वरपरका क्षेत्रहरू, दक्षिणमा जापोरिज्जिया र त्यसका केही भागहरू रहेका छन् ।

उत्तरपश्चिममा इर्पिन र बुचालगायत राजधानी वरपरका क्षेत्रहरूमा रहेका नागरिकहरूलाई रुसी सेनाको भीषण बमबारीबाट बच्न किभमा सारिने बताइएको छ । आइतबार पैदलयात्राबाट किभ पुग्न खोजिरहेका चार जना विस्फोटमा परेका समाचारमा जनाइएको छ । मङ्गलबार करिब ६० बसले किभबाट ३५० किलोमिटर पूर्वमा रहेको सुमीबाट सर्वसाधारणलाई बाहिर निकाल्न सफल भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले सञ्चारमाध्यमलाई बताएको छ ।

रुसी सिमानानजिक रहेको दुई लाख ५० हजार जनसंख्या भएको सहर सुमीबाट ५,००० भन्दा बढी मानिसलाई विस्थापित गरिएको थियो । यस शहरलाई रुसले ठूला आक्रमण गरेको गरेको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी युएनएचसिआरले युक्रेन शरणार्थीहरूको कुल संख्या २१ लाखदेखि २२ लाखसम्म पुगेको अनुमान गरेको छ ।

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । पाकिस्तान पिपुल्स पार्टी पीपीपीको नेतृत्वमा विपक्षी दलहरूले खानविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वास प्रस्ताव दर्ता गर्नुअघि राजधानी इस्लामावादमा आयोजित ¥यालीमा सहभागी हजारौं कार्यकर्तालाई सम्बोधन गर्दै पीपीपीका नेता एवम् हत्या गरिएकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका छोरा बिलावल भुट्टोले खानलाई राजीनामा दिन २४ घण्टाको म्याद दिएका थिए ।

सन् २०१८ मा सरकार सम्हालेयता खानले अर्थतन्त्र अस्तव्यस्त बनाएको र सुशासन दिन नसकेको भन्दै विपक्षीहरूले आलोचना गर्ने गरेका छन् । उच्च मुद्रास्फीती, व्यापार घाटा र विदेशी सञ्चितीको कमी हुँदै गएका कारण प्रधानमन्त्री खानलाई जनताले पत्याउन छाडेको विपक्षी नेताहरूले बताउँदै आएका छन् ।

रोयटर्सले जनाएअनुसार अविश्वासको प्रस्तावका पारित हुनका लागि पाकिस्तानी संसद्मा १७२ मतको आवश्यकता पर्छ । विपक्षी पार्टीहरूले भने १६१ मत आफूहरूसँग सुरक्षित रहेको र उनलाई हटाउन केबल ११ मतमात्रै चाहिएको बताउँदै आएका छन् ।

पूर्वराष्ट्रपति एवम् बिलावल भुट्टोका बुवा आशिफ अली जर्दारीले भने आफूहरूले १७२ भन्दा धेरै मत ल्याउने बताएका छन् । अब तल्लो सदनका सभामुखले २ साताको अवधिमा संसद् बैठक डाक्नुपर्ने प्रावधान छ । यद्यपि अविश्वासको प्रस्तावमा मतदान हुन भने केही समय लाग्नसक्ने बताइएको छ ।

राजनीतिक विश्लेषक एवम् विपक्षी दलका नेताहरूले पूर्व क्रिकेट खेलाडी खानलाई मुलुकको शक्तिशाली सेनाले साथ दिन छाडेको अर्थमा विश्लेषण गर्न थालेका छन् । यद्यपि खान र पाकिस्तानी सेनाले भने पाकिस्तानी राजनीतिमा सेनाको कुनै भूमिका नरहेको स्पष्ट पार्दै आएका छन् ।

यता खानले भने आफूलाई पदमुक्त गर्ने विपक्षीको योजना असफल पार्ने र यसका लागि आफू तयार रहेको दृढता व्यक्त गरेका छन् ।

गत वर्षमात्रै खानले अविश्वासको प्रस्तावमा भएको मतदानमा केबल ६ मतको झिनो अन्तरले विजय भएका थिए । पाकिस्तानमा अर्को वर्ष आम चुनाव हुँदैछ ।

पुटिनले परमाणु हतियारको प्रयोग गर्न सक्छन् – अमेरिकी सुरक्षा अधिकारी अमेरिकी सुरक्षा अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्नसक्ने चेतावनी दिएका छन् । अमेरिकी कंग्रेसको हाउस सेलेक्ट कमिटी अन इन्टिलिजेन्स बयान दिँदै अमेरिकी सुरक्षा अधिकारीहरूले यस्तो चेतावनी दिएका हुन् ।

अमेरिकाको रक्षा गुप्तचर एजेन्सीका निर्देशक लेफ्टिनेन्ट जनरल स्कट बेरियरले पुटिन अहिले आफ्नो हतियारको आधुनिकीकरणमा लागेको र सानो स्तरको आणविक हतियार विकास गर्न समय खर्चिरहेको जनाए ।

उनका अनुसार पुटिन ‘सामरिक आणविक हतियार’ विकास गर्न लागि परेका छन् ।

केही समयअघिमात्रै पुटिनले आफ्नो मुलुकको आणविक बललाई तैनाथ हुन निर्देशन दिएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार अमेरिकी अधिकारीहरूले व्यक्तिगत कुराकानीका क्रममा पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्नसक्ने चिन्ता व्यक्त गर्दै आएका छन् ।

दक्षिण कोरियमा राष्ट्रपतीय चुनाव दक्षिण कोरियामा राष्ट्रपति चयनका लागि मतदान भएको छ । चर्को राजनीतिक ध्रुवीकरणबीच नयाँ राष्ट्रपति चयनका लागि मतदान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

५ करोड २० लाख जनसंख्या रहेको दक्षिण कोरियामा १८ वर्षभन्दा माथिका ४ करोड ४० लाख जनता चुनावमा मतदान गर्न योग्य छन् । यसबाहेक १ करोड ६० लाखले मतदानको दिन अगावै मत दिइसकेको जनाइएको छ ।

चुनावी प्रतिस्पर्धामा सत्तारुढ लिवरल पार्टीका उम्मेद्वार ली जे म्युङ तथा उनका कन्जरभेटिभ प्रतिद्वन्द्वी युन सुक योलअघि रहेको जनाइएको छ । अरु १० जना पनि चुनावी मैदानमा रहेपनि मुख्य प्रतिस्पर्धा यिनै दुई उम्मेदवारबीच हुने जनाइएको छ ।

यद्यपि उत्तर कोरियाली खतरालाई सम्बोधन गर्ने विषयमा दुबै उम्मेदवारसँग स्पष्ट रणनीति नभएको आलोचकहरूको भनाइ छ । निर्वाचित हुने उम्मेदवारले आगामी मे महिनामा ५ वर्षको एकल राष्ट्रपतीय कार्यकाल सम्हाल्नेछन् ।

कोरोना भाइरसको महामारी र राजनीतिक ध्रुवीकरण उत्कर्षमा रहेका बेला चुनाव हुन लागेको हो । बुधबारमात्रै दक्षिण कोरियाली स्वास्थ्य अधिकारीहरूले मुलुकमा ३ लाख ४२ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका थिए । कोरोना भाइरसको महामारी शुरु भएयता दक्षिण कोरियामा देखिएको सबैभन्दा ठूलो संख्या हो ।

चुनावको नतिजा बिहीबारसम्म आइसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

युक्रेनलाई लडाकु विमान दिने पोल्याण्डको प्रस्ताव अमेरिकाद्वारा अस्वीकार जर्मनीस्थित नेटो सैनिक अखडाबाट युक्रेनलाई लडाकु विमान पठाउने पोल्याण्डको प्रस्ताव अमेरिकाले अस्वीकार गरेको छ ।

अमेरिकी रक्षामन्त्रालय पेन्टागनका प्रवक्ता जोन किर्बीले ‘नेटोको अमेरिकी सैनिक अखडाबाट रुस र युक्रेनबीच विवादमा रहेको हवाई क्षेत्रमा लडाकु विमान पठाउँदा त्यसले नेटोको गठबन्धनमै गम्भीर चिन्ता उत्पन्न हुने भन्दै पोल्याण्डको प्रस्ताव अस्वीकार गरिएको जनाएका हुन् ।

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अनुरोध स्वीकार गर्दै पोल्याण्डले आफूसँग रहेको मिग २९ लडाकु विमान युक्रेनतर्फ पठाउने प्रस्ताव अघि सारेको थियो ।

पोल्याण्डका प्रधानमन्त्री माटेयस मोरावेस्कीले युक्रेनतर्फ आक्रामक हतियारहरूको आपुर्ति नेटो सदस्यहरूको सर्वसम्मत निर्णयबाट मात्र गरिनुपर्ने बताउँदै आएका छन् ।

पोलिश प्रस्तावमा जर्मनीस्थित राम्स्टेनमा रहेको नेटो सैनिक अखडाबाट ती विमानहरूलाई युक्रेनतर्फ पठाइने उल्लेख थियो । यद्यपि यसबारे पोल्याण्ड र अरु नेटो आबद्ध मुलुकहरूसँग छलफल गरिने उनको भनाइ छ ।

रुसी गोलाबारीमा युक्रेनी अभिनेताको मृत्यु युक्रेनका चर्चित अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता पाशा लीको रुसी गोलाबारीमा परी मृत्यु भएको छ ।

राजधानी किभनजिकै रहेको इर्पिन शहरमा रुसी गोलाबारीमा परी उनको मृत्यु भएको युक्रेनी अधिकारीले जनाएका छन् ।

रुसले युक्रेनमाथि आक्रमण थालेयता ३३ वर्षे ली युक्रेनी ‘भूमि रक्षा दल’ मा भर्ना भई युद्धमोर्चामा खटिएका थिए ।

विभिन्न फिल्ममा अभिनय गरेका उनले द होबिट र द लायन किङ्गको युक्रेनी डबमा आवाज पनि दिएका थिए ।

सन् २००६ मा ‘द पिट’ भन्ने फिल्म खेलेयता उनले युक्रेनमा चर्चित अभिनेताको छवि बनाएका थिए । उनले पछिल्लोपटक ‘मिटिङ अफ क्लासमेट’ भन्ने फिल्म खेलेका थिए ।

अमेरिका र बेलायतले रुससँग तेल नकिन्ने अमेरिकाले युक्रेनमाथि आक्रमण गरिरहेको रुसबाट तेल आयात बन्द गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाले रुसबाट तेल आयात नगर्ने घोषणा गरेका हुन् ।

‘हामी सबै रुसी ग्यास, तेल र उर्जाको आयात बन्द गर्दैछौँ ।’ बाइडनले भने । उनले पछिल्लो घोषणाले ‘रुसी अर्थतन्त्रको मुख्य रक्तनली’ लाई लक्षित गरेको जनाएका छन् । ‘यसको अर्थ रुसी तेल अमेरिकी बन्दरगाहमा स्वीकार्य हुनेछैनन्’ बाइडनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्लो कदमले घरेलु मामिलामा पनि असर पर्ने स्वीकार गर्दै बाइडनले साझेदारहरूसँगको सल्लाहमै निर्णय लिइएको बताए । अमेरिकी राजनीतिक वृत्तका दुबै रिपब्लिकन र डेमोक्र्याटिक पार्टीले युक्रेनमा आक्रमण गरेको दण्ड दिन रुसमाथि थप आर्थिक प्रतिबन्ध लगाउन बाइडनमाथि दबाब दिँदै आएका थिए ।

यता अमेरिकासँगै बेलायतले पनि रुसी उर्जाको आयात विस्तारै बन्द गर्ने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बेलायतले यही वर्ष सन् २०२२ को अन्त्यसम्म रुसी तेलको आयात पूर्ण रूपमा कटौती गर्ने घोषणा गरेको हो ।

उर्जा निर्यात रुसी अर्थतन्त्रको प्रमुख आयश्रोत हो । रुस साउदी अरब र अमेरिकापछि तेश्रो ठूलो तेल उत्पादनकर्ता मुलुक पनि हो । यसअघि रुसले पश्चिमा मुलुकहरूले आफ्नो तेलमाथि प्रतिबन्ध लगाएको खण्डमा ग्यासको निर्यात पनि ठप्प पारिदिने चेतावनी दिएको थियो ।

अमेरिकाले रुसबाट आफ्नो खपतको ८ प्रतिशत तेल आयात गर्दै आएको छ भने बेलायतले रुसबाट ६ प्रतिशत तेल आयात गर्छ । रुसी तेलको विकल्पमा अमेरिकाले दक्षिण अमेरिकी मुलुक भेनेजुएलासँग सहकार्य गर्न लागेको बीबीसीले जनाएको छ ।

पाकिस्तानी युवतीले मोदीलाई धन्यवाद दिइन् भारतीय राजदूतावासको सहयोगमा युक्रेनबाट उद्धार गरिएकी एक पाकिस्तानी युवतीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी छिन् ।

भिडियो सन्देशमार्फत भारतीय दूतावासको सहयोगमा युक्रेनबाट उद्धार गरिएकी पाकिस्तानी युवती आस्मा शफिकले मोदीलाई धन्यवाद दिएकी हुन् । ‘निकै गाह्रो अवस्थामा सहयोग गरेकोमा किभमा रहेको भारतीय राजदूतावासप्रति म कृतज्ञ छु ।’ भिडियोमा उनले भनेकी छिन्, ‘म प्रधानमन्त्री नरेन्द्र मोदी प्रति पनि कृतज्ञ छु । आशा गरौँ हामी सुरक्षित घर फिर्नेछौं ।’ भारतीय समाचार संस्था एएनआईले जारी गरेको उनको भिडियो सन्देशमा भनिएको छ ।

हाल उनी पश्चिम युक्रेनतर्फ लागेको र त्यहाँबाट उनी घर फिर्ने स्रोतहरूलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँबाट भारतीय दूतावासले आफ्ना नागरिकको उद्धार कार्यलाई तीब्र बनाइरहेको छ । उद्धारका क्रममा भारतले अपरेशन गङ्गाको नामबाट १६ हजार भन्दा धेरै नागरिकलाई स्वदेश फिर्ता गरिसकेको छ ।

अमेरिकी सेनाध्यक्षद्वारा युक्रेनी सीमाक्षेत्रको गोप्य भ्रमण अमेरिकी सेनाध्यक्ष मार्क मेलीले युद्धग्रस्त युक्रेनी सीमाको गोप्य भ्रमण गरेको खुलासा भएको छ । पेन्टागनका वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार मेलीले गएको साता युक्रेनको सीमा नजिकै रहेको हवाई मैदानको भ्रमण गरेका हुन् ।

यद्यपि उनले कुन देशको कुन हवाई मैदानको भ्रमण गरेका हुन् भन्नेबारे केही खुलाइएको छैन । समाचारअनुसार मेलीले त्यहाँ पुगी हतियारको निरीक्षण गरेका थिए भने युक्रेनलाई हतियार दिने कार्यका विषयमा पनि जानकारी लिएका थिए ।

समाचारमा जनाइएअनुसार उक्त हवाई मैदान अहिले नेटोले युक्रेनलाई हतियार पठाउने प्रमुख क्षेत्रको रूपमा विकसित भएको छ ।

अमेरिकाले घोषित कूल ३५ करोड डलर मध्ये हालसम्म २४ करोड डलर बराबरको हतियार युक्रेनलाई आपुर्ति गरिसकेको छ ।