अन्तर्वार्ता

क्यान्सर जितेर भलिबल खेलाडीबाट अन्तर्राष्ट्रिय रेफ्री

By एसेन्स श्रेष्ठ

April 09, 2022

काठमाडौँ : भोजपुरकी चन्द्र बदना राईले ८ कक्षा पढ्दा–पढ्र्दै भलिबल खेल्न सुरु गरिन्। विरेन्सिल प्रतियोगितामा जिल्ला च्याम्पियन भएपछि भलिबलसँगको आत्मीयता झनै बढ्यो । मानसिकरूपले आनन्द प्राप्त गर्न राईले सुरु गरेको खेल उनको जीवनको महत्वपूर्ण पाटो बन्छ भन्ने कल्पना गरेकी थिइनन् ।

भोजपुरबाट सुरु भएको भलिबलको यात्राले राईलाई अहिले अन्तर्राष्ट्रिय मान्यता प्राप्त महिला रेफ्रीका रूपमा विश्वमा चिनाएको छ । यद्यपि, खेलाडीदेखि राष्ट्रिय खेलाडी बन्दै अन्तर्राष्ट्रिय रेफ्रीसम्मको यात्रामा भने राईले थुप्रै चुनौतीको सामना गर्नुपर्‍यो ।

राईले भलिबल खेल्दा छोरीले खेल्नु पर्छ भन्ने त परै जाओस समाजले छोरा पनि खेलमा लागे बिग्रिन्छ भन्ने सोचाइ थियो । त्यो परिस्थितिमा एक छोरी मान्छे खेलाडीको रूपमा स्थापित हुनु सजिलो थिएन । महिला पुरुष दुवैको खेलमा लाग्नुलाई मुर्खता मानिन्थ्यो । यसकारण पनि खेलकुदमा सहभागी नै कम हुने गर्थ्यो ।

भलिबलसँग नजिकबाट भिजेकी चन्द्र बदना राईको भलिबल खेलाडीदेखि रेफ्रीसम्मको अनुभवः

भलिबलसँगको लगाव

म एसएलसीपछि काठमाडौँ आएँ । मैले भलिबल कता खेलाइन्छ, कता सिकाइन्छ भनेर खोज्न सुरु गरेँ । तर निराशामात्र हात पारेँ । भलिबल तालिम केन्द्र र खेल्ने वातावरण दुवै भेटिनँ । यसकारण थोरै ग्याप पनि भयो।

त्यसपश्चात कलेजस्तरीय भलिबल प्रतियोगितामा भने पुनः नजिकिने अवसर पाएँ । साथै राष्ट्रिय प्रतियोगितामा पनि संलग्नता बढ्दै गयो । समग्र रूपमा भलिबलसँगको आत्मियता पनि बढ्दै गयो ।

भलिबल रेफ्रीतर्फको यात्रा

गाँउठाँउको मान्छे भएपछि पहाडबाट काठमाडौँ आएपश्चात सामाजिक, आर्थिक जस्ता थुप्रै चुनौतीको सामना गर्नुपर्‍यो । विंसं २०६२ मा जीवनको सङ्घर्ष जारी नै रहँदा म राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी थिएँ ।

त्यति बेला म साफ गेम्सको प्रारम्भिक चरणमा पनि छनोट भएको थिएँ । एकातिर खेलकुदको यात्रा अर्कातिर पारिवारिक र विद्यार्थी जीवन । जसका कारण तालिमलाई समय दिन असहज हुन थाल्यो । जसका कारण भलिबलसँगको फेरि टाढिनु पर्‍यो ।

भलिबलसँग टाढिनु परे पनि मनमा एउटा असन्तुष्टी र अपुरो भएको भावना भने बाँकी नै रह्यो । चटक्क भलिबलसँगको सम्बन्ध त तोडेँ तर धेरै दिन टाढा भने बस्न सकिनँ । आफू भित्रको खेलाडीलाई भने खेलसँग टाढा राख्न सकिनँ ।

आफ्नो अपूर्णताको भावको पूर्ति गर्न र भलिबलसँग नजिकिनु मैले रेफ्री पदलाई उपयुक्त माध्यम पाएँ । फलस्वरूप विंसं २०६९ मा पोखरामा आयोजना भएको राष्ट्रिय रेफ्री तालिममा सहभागीता जनाए । यसले राष्ट्रिय प्रतियोगितामा अफिसियएटिङ गर्ने ढोका खुल्यो । विस्तारै रेफ्रिङ गर्दैँ जाँदा अर्को अवसर आयो ।

विंसं २०७०–७१ मा थाइल्याण्डमा भएको ईन्टरनेशनल रेफ्री क्यान्डिडेटको तालिम मैले पास गरेँ । औपचारिक रूपमा तालिमको पूर्णताको लागि ५ वर्षभित्र अन्तर्राष्ट्रिय खेलमा अफिसियेटिङ गर्नु आवश्यक थियो । जसको लागि मैले २०७५ मा श्रीलंकाको कोलम्बोमा भएको पुरुषको एसियन भलिबल च्याम्पियनसीपमा सहभागीता जनाएर यस तालिमलाई औपचारिक रूपमा पुरा गरेँ । गत वर्ष सर्टिफिकेट पाएसँगै अन्तर्राष्ट्रिय मान्यता प्राप्त रेफ्रीको यात्राको सुरुवात भयो ।

खेलाडी नभई रेफ्री भएर राष्ट्रिय खेलमा भाग लिँदाको क्षण

साथीहरू राष्ट्रिय टोलीमा नै खेलिरहेका बेला मैले अफिसिएटीङ गर्ने अवसर पनि पाएँ । त्यसबेला खेलाडीको रूपमा कोर्टमा नभई रेफ्रीको रूपमा उपस्थित थिएँ । सोही क्रममा नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि स्वर्ण ल्याउँदै थियो । नेपाली महिला खेलाडीले पनि भलिबलमा राम्रो योगदान पुर्‍याए तर समाज भने गुमनाम भएको, महिला भलिबलले उल्खनीय रूपमा फड्को नमारेको देख्दा रेफ्री बन्ने निर्णय ठीक रहेछ भन्ने लाग्यो । आफूले रेफ्रीको स्थानबाट भलिबलमा अबद्ध रहँदा अझैं केही गर्न सकिन्छ कि भन्ने पनि भयो ।

नयाँ भूमिका, नयाँ जिम्मेवारी । खेल्नु र खेलाउनुमा धेरै फरक हुने रहेछ । खेलाडी भएर प्रतियोगितामा भाग लिदाँ खेलमा कसरी राम्रो प्रदर्शन गर्ने कसरी टोलीलाई जिताउने भन्ने सोच हुन्थ्यो । रेफ्री भएर भाग लिँदा कसरी निष्पक्ष रूपमा परिणाम दिन सकिन्छ । व्यक्तिगत रूपले नसोचेर पदीय तरीकाले कसरी सोच्ने भन्ने विषयमा अग्रसर हुन थालेँ ।

नेपालमा रेफ्री बन्नको लागि योग्यता नीतिगत रूपमा तोकिएर नै योग्यता भनेर टिपोट गरिएको छैन । मुलतः खेलको जानकारी भएको, साथै नियम र भलिबलसम्बन्धी आवश्यक जानकारी भएमा रेफ्री बन्नमा सहज हुन्छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय खेलाडी भए त झनै उत्तम हुन्छ तर सो नभए पनि रेफ्री बन्न सकिन्छ ।

नेपालमा र विश्वमा रेफ्री गर्दाको फरक नियम त सबै ठाँउमा समान नै हुन्छ । तर नेपाल भने प्राविधिक र भौतिक रूपमा कमजोरी हुँदा सहजै रूपमा प्रतियोगिता संचालन गर्न कठिनाइ हुने गर्दछ । कहिले कभर्ड हलको अभावमा पनि सम्झौंताअनुरूप खेलाउन पर्दछ । रेफ्रीले नेपालमा सोचे बमोजिमको नतिजा दिन सहज छैन । यस्तै चुनौतीहरू प्रसस्तै हुने गर्छन् । विदेशमा राम्रो नतिजा भने कम संघर्षमा नै पनि निकाल्न सकिन्छ यद्यपि नेपालमा स्थिति चुनौतीपूर्ण छ ।

ओभेरियन क्यान्सरसँगको लडाईं चुनौतीपूर्ण नै रह्यो । त्यसबेला सबै स्थितिमा मनोविज्ञान बलियो बनाएर अगाडि बढ्नुपर्छ भन्ने मेरो सोचाईले महत्पूर्ण भूमिका खेल्यो । यो स्वास्थ्य अवस्थाले मेरो गतिलाई विस्तार त गर्‍यो तर मेरो मनोबललाई भने डगमगाउन सकेन । शारीरिक रूपले कमजोर बनायो, पेशागत रूपमा उतारचढाव त आयो तर यसले मलाई निराश बनाउन सकेन। यसलाई मैले मेरो जीवनको एउटा अनुभवको रूपमा नै लिएँ । कमजोरीको रूपमा लिइनँ ।

साथै समयमा नै यो रोग देखापरेकोले उपचार पनि समयमा नै भयो । विंसं २०७७ आसोज महिनामा क्यान्सर भएको कुरा थाहा पाएँ । कोभिड–१९ को अवस्थामा लकडाउन हुँदा भने शल्येक्रियाको निम्ति अलिक पर्खनु नै पर्‍यो । खोप सबैको लागि उपलब्ध भइसकेको थिएन । कोभिडले कस्तो रूप लिन्छ भन्ने पनि कसैलाई थाहा थिएन । तसर्थ शल्यक्रियाको लागि भने मंसिर २१ सम्म कुर्नु पर्‍यो । तर, खेलाडी पनि भएकोले आफूभित्रको फाइटिङ स्पिरिटले मलाई रिकभर हुनु र खेलकुदमा पुनःआगमनको लागि निकै सहयोग गर्‍यो ।

यस्तै, आर्थिक रूपले समस्या त भयो । मध्यमवर्गीय परिवार भएकोले संचय गर्छु भन्दा पनि गर्न नसक्ने स्थिति हुने गर्छ । साथीभाइले र विभिन्न संघसंस्थाको सहयोगले नै आर्थिक संकटको सामना गर्न मद्दत गर्‍यो । पैंसा कमाउन नसके पनि मान्छे भने कमाएको रहेछु जस्तो लाग्यो । आफ्नो क्षमता अनुरूप सहयोगी हातका कारणले नै गर्दा आज म स्वस्थ छु, खुसी छु ।

नेपालमा भलिबल रेफ्रीको अवस्था

एकदम्मै नाजुक स्थिति छ । जुन सुकै संस्थाको विकासको लागि निति, रणनीति वा कार्ययोजनाको आवश्यकता पर्दछ । यो भन्दैमा हाम्रो नेपाल भलिबल संघ राम्रो छैन भन्न खोजेको पनि होइन । तर हाम्रो धरातल कस्तो छ भने परापूर्वक कालदेखि जसरी चल्दै आएको छ त्यसरी नै अगाडि बढिरहेकोजस्तो छ । समयले माग गरेअनुसारको वैज्ञानिक विधिलाई भने अझै अपनाउन बाँकी नै छ । वैज्ञानिक विधिको लागि केही टोली अगाडि बढे पनि विश्वस्त ढाँचा अझैं बन्न सकेको छैन । फलस्वरूप यसको असर रेफ्रीमा पनि देखिन्छ ।

रेफ्रीले व्यक्तिगत लगानीमा अन्तर्राष्ट्रिय प्रशिक्षणहरू गरिरहेका छौं । यो एकदम्मै दुःखद कुरा हो । विदेशी फेडेरेसनले राष्ट्रिय लगानीमा तालिम प्रदान गर्नेलगायतको अन्य खर्चसमेत प्रदान गर्ने गर्दछन् । जबकि हामीले डलरमा तिरेर तालिम लिन्छौँ । अर्को समस्या भनेको नेपालले अफिसियल प्रतियोगितामा थोरै भाग लिने भएकोले करिब ४ रेफ्री अन्तर्राष्ट्रिय तालिम पूर्ण गर्नु अझैं पर्खाईंमा छन् । अन्तर्राष्ट्रिय रेफ्री बन्नलाई यस्तो चुनौतीको सामाना गर्नु परिरहेको अवस्था छ । जसमा आर्थिक रूपले धेरैलाई पिरोल्ने गरेको छ ।

कसैले सहयोग गर्दिन्छ अनि अवस्थामा सुधार आउँछ भनेर बस्नुभन्दा यसको लागि हामी आफैँ अग्रसर हुनु पर्छ । सुरुवात हामीबाट नै हुनुपर्छ । सबैले सबै क्षेत्रबाट हुन्छ कि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट आर्थिक सहयोगको व्यवस्थाको लागि पनि पहल गर्न सकिन्छ । विभिन्न आर्थिक उत्पाक्त्वा बढाउने कार्यक्रमको पनि थालनी गर्नुपर्दछ ।

नेपालमा महिला भलिबल रेफ्रीको संख्या महिला हुँदै नहुनु भएको होइन । नेपालमा महिला र पुरुष गरी करिब १ सय ३० जना राष्ट्रिय रेफ्रीहरू छन् । जसमध्ये करिब ३–४ जना महिला रेफ्री मात्र सक्रिय छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त महिला रेफ्री भने म मात्र छु । कति महिला रेफ्री खेल्दै पनि हुनुहुन्छ । कति महिला घरायसी जीवन व्यतित गरिरहेका छन् । जति महिला सहभागीतामा वृद्धि हुन्छ भनेर सोचिएको थियो त्यस्तो भने भएको छैन ।

यसको पछाडि थुप्रै कारण रहेका छन् । अब नेपालमा महिलाको अवस्था पुरुषको भन्दा धेरै फरक हुन्छ । प्राय महिला नेपालमा शैक्षिक र आर्थिक रूपमा सबल भइसकेका छैनन् । कतिले बुबा, कतिले दाइहरूको आर्थिक सहयोगमा पढिरहेका छन् । कति भने श्रीमानमा पनि आर्थिक रूपले निर्भर हुन्छन् । यसले महिलाको व्यक्तिगत निर्णय लिने पाटोमा पनि असर गर्दछ । महिला आत्मनिर्भर हुनुमा पनि समस्या आउने गर्दछ ।

साथै समाजमा भित्री रूपमा अझै पनि महिला शोषित छन् । अझै पनि महिलाको निर्णयको क्षमतामा पनि प्रश्न उठाउने गरेको पाइन्छ । कति ठाँउमा महिला रेफ्रीले धेरै आलोचना पनि खेप्नुपर्छ । तर, आलोचनालाई शिक्षाको पाटोको रूपमा नलिँदा पनि महिला रेफ्रीको सहभागीतामा असर परेको छ ।

महिलालाई अझैं पनि टीमवर्कमा समान रूपमा समर्थन गरेको पाईदैन । तर, विस्तारै परिवर्तन भने आउँदै छ । नयाँ शिक्षित बहिनीहरू पनि सहभागीतामा विस्तारै वृद्धि हुँदैछ । यसले भविष्यमा महिला रेफ्रीको अवस्थामा पनि सुधार हुने आशा गर्न सकिन्छ ।

नयाँ पुस्ताका महिला रेफ्री तालिम मात्र प्राप्त गरेर हुँदैन । तालिमपश्चात आत्मविश्वास पनि उच्च हुनुपर्छ । यो मेरो क्षेत्र हो । यसमा मलाई गर्नु छ भनेर अगाडि आउनु हुन्छ। यो छिटो निर्णय गर्ने कुरा हो । कसैसँग सल्लाह गरेर गर्ने कुरा होइन । सबैले याद गर्ने पेशा हो । धेरै आलोचना सुन्नु पर्छ । प्रत्यक्ष रूपमा हुने नहुने कुरा सुन्नु पर्छ ।

यस्तो सुन्नु पर्छ भनेर डराउने व्यवहार पनि देख्ने गरिन्छ । साथै प्राय जुनियर रेफ्री अलिक लजालु स्वाभावका हुने गर्दछन् । अभिव्यक्ति नदिने स्वभावका पनि हुन्छन् । तर, यस्तो स्थितिमा आफूलाई बलियो बनाएर अगाडि आउनु पर्दछ ।

यस्तो वातावरणमा लड्ने जुध्ने गर्नुपर्छ तर अत्याधिक महिला रेफ्री प्रारम्भिक चरणमा भाग्ने गर्छन् । यो भाग्ने कारणले समस्या आउँछ । नयाँ तालिम लिएका महिलालाई के भन्छु भने अफिसियएटीङमा आउने समस्याको निराकरन गर्न म सधैँ तपाईंहरूसँग नै हुन्छ । एउटा राम्रो टीमवर्कको लागि सधैं अगाडि बढ्नुस ।

अवस्थामा सुधार पक्कै आउँछ । साथै, नेपाल भलिबल संघले विभिन्न कोटाहरू प्रदान गर्ने गर्छ। संघसँग सम्पर्कमा आएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीको तालिमको बारेमा परामार्श लिएर पनि संख्या बढाउन सकिन्छ । (कुराकानीमा आधारित)