काठमाडौं- अमेरिकाको न्यु योर्क शहरस्थित एक विद्यालयमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ । न्यु योर्क शहरको ब्रन्क्स जिल्लामा रहेको साउथ ब्रन्क्स विद्यालयमा बन्दुकधारीले जथाभावी गोली प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको जनाइएको छ । घटनामा अरु दुई जना घाइते भएका छन् । सुरक्षा अधिकारीलाई उद्धृत गर्दै एबीसी ७ न्यु योर्कले जनाएअनुसार घटना स्थानीय समय अनुसार सबेरै दुई बज्नुभन्दा अघि भएको हो ।
प्रहरीले बन्दुकधारीको खोजी गरिरहेको बुझिएको छ । अमेरिकामा बारम्बार यस्ता गोलीकाण्डका घटना हुँदै आएका छन् ।
अमेरिकी संविधानको दोश्रो संशोधनमै बन्दुक राख्न र बोक्न पाउने अधिकार दिइएकाले बन्दुकले अमेरिकामा एक किसिमको संस्कृति पहिचान नै स्थापना गरेको बताइन्छ ।
यद्यपि आलोचकहरूले भने बन्दुक संस्कृतिका कारण गोलीकाण्डका घटनाहरू हुने भन्दै यस्तो व्यवस्था हटाउन माग गर्दै आएका छन् ।