तस्वीर- न्यूजवायर श्रीलंका

अन्तर्राष्ट्रिय

राजीनामा दिएपनि श्रीलंकाली अर्थमन्त्रीले जिम्मेवारीलाई निरन्तरता दिने

By खबरहब

April 09, 2022

काठमाडौं- चरम आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको अभाव झेलिरहेको श्रीलंकामा अर्थमन्त्रीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने जनाएका छन् ।

यसै साताको शुरुमा नयाँ अर्थमन्त्रीको नियुक्ति पाएको २४ घण्टा नबित्दै राजिनामा दिएका श्रीलंकाली सत्तारुढ दलका सांसद अली सबरीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका हुन् ।

२६ मन्त्रीहरूले सामूहिक राजीनामा दिएपछि उनलाई गत सोमबार राष्ट्रपति गोताबाया राजपाक्षेले अर्थमन्त्री नियुक्त गरेका थिए । अर्थमन्त्रीको नियुक्ति पाएको एक दिनपछि सबरीले राष्ट्रपतिसमक्ष राजीनामा पेश गरेका थिए ।

यद्यपि राष्ट्रपतिले उनको राजीनामा स्वीकृत नगरेको बताइएको छ । सबरीले शुक्रबार संसदमा बोल्दै अर्थमन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न धेरैले आनाकानी गरेको र राष्ट्रपति गोताबाया राजपाक्षेले सबरीको राजीनामा स्वीकृत गर्न नमानेपछि उनले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताएका हुन् ।

सबरीले भने, ‘जस्तोसुकै चुनौती सामना गर्नु परे पनि देशको अर्थतन्त्र बचाउन म अर्थमन्त्रीका रुपमा रहन र आवश्यक काम गर्न तयार छु ।’