समाचार

बागमती प्रदेशमा ट्याक्सी र सार्वजनिक यातायातको भाडा बढ्यो, वैशाख १ गतेदेखि लागू हुने

By खबरहब

April 09, 2022

काठमाडौँ- बागमती प्रदेश सरकारले काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारीसँगै ट्याक्सीको भाडा बढाएको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा दोस्रोपटक सार्वजनिक यातायातको भाडादर बढेको हो ।

श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ । यसअघि, बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर काठमाडौँ उपत्यकाको भाडादर वृद्धि गरेको थियो ।

समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।

नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।

यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।

पेट्रोलको मूल्यवृद्धिसँगै भाडादर समेत बढाउनुपर्ने भन्दै व्यवसायीहरूले माग राख्दै आएका थिए । यातायात व्यवसायीको मागलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा बढाउने क्रममा उपत्यकामा पनि बढाएको जनाएको छ ।

पछिल्लो पटक भाडा समायोजन हुँदाको मूल्यभन्दा पाँच प्रतिशतले पेट्रोलियम पदार्थको मूल्यमा घटबढ भए भाडा समायोजन गर्ने गरिन्छ ।