काठमाडौं- रुसले युक्रेनमा आफ्नो सैन्य नेतृत्वलाई पुनर्गठन गरेको छ । बीबीसीले जनाएअनुसार रुसले युक्रेनमा जारी आक्रमणका लागि सैनिक नेतृत्व हेरफेर गरेको हो ।
बीबीसीको समाचारमा जनाइएअनुसार जनरल अलेक्जेन्डर दिभोर्निकोभलाई युक्रेनमा रुसी सैनिक गतिविधिको नेतृत्व गर्ने सम्पूर्ण जिम्मेवारी दिइएको छ ।
यसअघि युक्रेनका विभिन्न क्षेत्रमा छुट्टाछुट्टै रुसी कमान्डरले युद्ध चलाइरहेको बताइएको छ । जनरल दिभोर्निकोभसँग सिरियामा रुसी कारवाहीमा राम्रो अनुभव रहेको पश्चिमा अधिकारीहरुले बताएका छन् ।
नाम नबताउने स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यसअघि दिभोर्निकोभ रुसको दक्षिणी सैन्य जिल्लाका कमाण्डर थिए । युक्रेन आक्रमणमा खटिएका विभिन्न इकाईसँग संयोजन सुधार्ने प्रयत्नस्वरूप नयाँ कमान्डर खटाइएको बताइएको छ ।
अपेक्षा अनुसार सैनिक लक्ष्य हासिल गर्न नसकेको र किभ जस्ता मुख्य शहरमा पनि नियन्त्रण जमाउन नसकेका कारण अहिले रुसी सेना पूर्वको डोनबास क्षेत्रमा केन्द्रित हुनुपरेको बीबीसीले जनाएको छ ।