काठमाडौँ– शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएकी छन् ।
उनले बजारमा हल्ला फैलिएजस्तो नेपालको अर्थतन्त्र धराशायी नबनेको बताएका हुन् ।
शनिबार काठमाडौँ विद्युतीय व्यवसायी संघको १२ औँ वार्षिक साधारणसभामा मन्त्री झाँक्रीले हल्ला फैलाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने कार्य गलत भएको बताइन् ।
उनले भनिन्, ‘बजारमा हल्ला फैलाइएजस्तो देशको अर्थतन्त्र धराशायी बनेको छैन । अर्थतन्त्रमा सामान्य चाप देखिनु नौलो कुरा होइन । नेपालको अर्थव्यवस्था हेरेर आत्तिइहाल्नुपर्ने अवस्था छैन ।’
मन्त्री झाँक्रीले सरकारका गम्भीर तथ्यांक र गोप्य सूचना चुहाउनु अपराध रहेको बताउँदै त्यस्ता सूचना चुहाउनेमाथि छानबिन गर्न जरुरी रहेकोसमेत बताइन् ।
खाँडी मुलुकमा भएको कच्चा तेलको मूल्यवृद्धि र रसिया–युक्रेनबीचको युद्धका केही बाछिटाहरू नेपालको अर्थतन्त्रमा देखिएको भन्दै यसबाट आत्तिन आवश्यक नरहेको उनको भनाइ थियो ।
अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्ने भन्दै उनले स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्नुपर्ने पनि बताइन् ।
सभामा संघका अध्यक्ष सरोजकुमार रेग्मीले बैंक तथा वित्तीय संस्थाले अनावश्यक ब्याजदर बढाएको भन्दै व्यवसायीलाई सहुलियत हुनुपर्ने माग गरे । उनले नेपालमै विद्युतीय सामग्रीको गुणस्तर बढाउनुपर्नेसमेत बताएका थिए ।