हेटौंडा- सत्तारुढ गठबन्धनबाट हेटौंडा उपमहानगरको मेयर पदकी उम्मेदवार मीनाकुमारी लामाले यसपटक हेटौंडा उपमहानगरपालिकाले महिला मेयर चाहेको बताएकी छन् । आफूलाई जिल्लाकै पहिलो महिला मेयरको रुपमा जनताले हेर्न चाहेको उनको भनाइ छ ।
‘म मेयरसाप होइन जनताको सेवकको रुपमा मेयर पदमा रहेर काम गर्न चाहन्छु,’ उनले भनिन्, ‘यो पटक हेटौंडाले महिला मेयर पाउँदैछ । एक दलको होइन पाँच दलको साझा उम्मेदवार पाउँदैछ । हेटौंडालाई साझा बनाउँनेछौ ।’ समाजमा अझै पनि धेरै महिला पछि परिरहेको अवस्थामा आफू आत्मविश्वास र प्रतिस्पर्धाबाटै यहाँसम्मको यात्रा तय गरेको बताइन् ।
महिलाले नेतृत्व गरेको हेटौंडा उपमहानगरपालिका कस्तो हुन्छ भनेर पाँच वर्षपछि देखिने उनको दावी छ । ‘महिलाले पनि अवसर पाए केही गर्न सक्छन् भन्ने सोचको विकास भइसकेको छ । मैले पाँच वर्ष उपमेयर भएर केही अनुभव सँगालिसकेको छु । उक्त अनुभवलाई जनताको सेवामा लगाउँनेछ,’ उनले थपिन्, ‘गठबन्धनको जित नै हेटौंडा उपमहानगरवासीको हित हुनेछ ।’