फाइल तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

पोपास्ना शहरबाट आफ्ना सैनिक पछि हटेको युक्रेनको पुष्टि

By खबरहब

May 09, 2022

काठमाडौं– रुसी फौजले आक्रमणलाई निरन्तरता दिइरहेको पूर्वी युक्रेनको पोपास्ना शहरबाट युक्रेनी सैनिक पछि हटेका छन् ।

पूर्वी युक्रेनको लुहान्स्क क्षेत्रका गभर्नरले आफ्ना सैनिक पोपास्ना शहरबाट पछि हटेको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि रुसको चेचेन्या गणतन्त्रका प्रमुख रमजान कदिरोभले आफ्ना फौजले पोपास्ना कब्जा गरेको घोषणा गरेका थिए ।

लुहान्स्का गभर्नर शेरी हाइदाइले युक्रेनी टेलिभिजनलाई अन्तरवार्ता दिँदै युक्रेनी फौज शहरबाट पछि हटेर अझ मजबुत स्थानमा पुगेको जानकारी दिएका हुन् । उनले शहरमा ‘सबैकुरा नष्ट भएको’ समेत बताएको रोयटर्सले जनाएको छ ।

पछिल्लो समय पूर्वी युक्रेनको लुहान्स्क र डोनेत्स्क क्षेत्रमा रुसी फौजले थप जमिन कब्जा गर्ने उद्देश्यले आक्रमणहरुलाई निरन्तरता दिइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।