फाइल तस्वीर- एएफपी

अन्तर्राष्ट्रिय

श्रीलङ्कामा प्रदर्शनकारीको दुई समूहबीच झडप, तनावपछि कर्फ्यू घोषणा

By रासस

May 09, 2022

काठमाडौं- श्रीलङ्काको राजधानी कोलम्बोमा प्रदर्शनकारीका दुई समूहबीच भएको झडपका कारण तनाव उत्पन्न भएपछि सोमबार प्रहरीले कर्फ्यू लगाएको छ ।

सोमबार बिहान सरकार समर्थक प्रदर्शनकारीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई राजीनामा नगर्न आग्रह गर्दै प्रधानमन्त्रीको सरकारी निवास टेम्पल ट्रिज अगाडि प्रदर्शन गरेका थिए ।

सरकार समर्थक प्रदर्शनकारीले प्रधानमन्त्रीसँग भेट गरेपछि उनीहरूको समूह र सरकार विरोधी प्रदर्शनकारीको समूहबीच झडप भएको थियो ।

सो झडपमा कम्तीमा १६ जना घाइते भएका थिए । उनीहरूलाई कोलम्बो नेसनल अस्पतालमा भर्ना गरिएको छ । श्रीलङ्कामा विदेशी मुद्राको अभावबाट उत्पन्न भएको आर्थिक सङ्कटको  पछिल्ला दिनमा झन विकराल बन्दै गएको छ ।

जसका कारण इन्धन, खाद्यान्न र औषधि जस्ता अत्यावश्यक आपूर्तिहरूको अभाव निम्त्याएको छ। सरकार र संसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ ।