फाइल तस्वीर

अन्तर्राष्ट्रिय

श्रीलंकाली प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा

By खबरहब

May 09, 2022

काठमाडौं– श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षेले पदबाट राजीनामा दिएका छन् । श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले प्रधानमन्त्री राजपाक्षेले राजीनामा दिएको जनाएको हो ।

प्रदर्शनकारीको दुई समूहबीच झडप भएसँगै टापुभर कर्फ्यू जारी गरिएको अवस्थामा प्रधानमन्त्रीले राजीनामा दिएका हुन् ।

यसअघि गत शुक्रबार राष्ट्रपति गोताबाया राजपाक्षेले आफ्ना भाइ महिन्दाले राजीनामा दिने जानकारी दिएका थिए ।

विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको सन्दर्भमा श्रीलंकामा सरकारको विरोध गर्दै पछिल्ला केही सातायता प्रदर्शन हुँदै आएका छन् ।

प्रदर्शनकारीहरुले सरकारले तत्काल राजीनामा दिनुपर्ने र सरकार एवम् संसद्बाट राजपाक्षे परिवारका सदस्यहरु हट्नुपर्ने माग गर्दै आएका छन् ।

मुलुकमा जारी आर्थिक संकट एवम् यसबाट उत्पन्न अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकाली नागरिकहरुले कष्टको सामना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।