फाइल तस्वीर- एफजीएज

अन्तर्राष्ट्रिय

शेख हसिना भन्छिन्– ‘भारतलाई चटगाउँ बन्दरगाह प्रयोग गर्न दिन बंगलादेश सकारात्मक छ’

By खबरहब

May 09, 2022

काठमाडौं– भारतको पूर्वोत्तर राज्यहरूमा पारवहन पहुँचका लागि बंगलादेशले भारतलाई चटगाउँ बन्दरगाह प्रयोग गर्न दिन सकारात्मक रहेको जनाएको छ ।

बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले भारतलाई चटगाउँ बन्दरगाह प्रयोग गर्न दिन बंगलादेश सकारात्मक रहेको बताएको बंगलादेशबाट प्रकाशित हुने ढाका ट्रिब्युन अखबारले जनाएको छ ।

‘यदि पारवहन पहुँचमा वृद्धि भयो भने पूर्वोत्तर भारतका आसाम र त्रिपुराजस्ता राज्यले चटगाउँको बन्दरगाहको प्रयोग गर्न सक्छन् ।’ प्रधानमन्त्री हसिनालाई उद्धृत गर्दै ढाका ट्रिब्युनले जनाएको छ ।

पूर्वोत्तर भारतीय राज्यहरुबाट छोटो दूरीमा रहेकाले चटगाउँ बन्दरगाहको प्रयोगबाट पूर्वोत्तर भारतमा आर्थिक विकासको ठूलो सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरु बताउँछन् ।

यसअघि सन् २०१० मा भारत र बंगलादेशले चटगाउँ र मोङ्गला बन्दरगाह प्रयोगबारे एमओयूमा हस्ताक्षार गरेका थिए । पछि सन् २०१८ मा बंगलादेश सरकारले भारतलाई मालसामानको आपूर्तिका लागि ती बन्दरगाहको प्रयोग गर्न दिन सहमति जनाएको थियो ।