मनोरञ्जन

‘प्रसाद २’ को निर्देशकमा सुदर्शन अनुबन्धित 

By खबरहब

June 09, 2022

काठमाडौँ- दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ को सिक्वेललाई सुदर्शन थापाले निर्देशन गर्ने भएका छन् । सुदर्शनले निर्देशन गर्ने तय भएसँगै केही दिन यता उनले लेखक सुशील पौडेलसँग स्क्रिप्टमा काम गरिरहेका छन् । ‘प्रसाद’ को दर्शकलाई निराश बन्न नदिन लेखक तथा निर्देशक स्क्रिप्टको काममा व्यस्त छन् ।

‘प्रसाद’ निर्देशन गरेका राउतले आफूले सिक्वेल फिल्म निर्देशन नगर्ने घोषणा गरेका थिए । राउतले सिक्वेल नगर्ने घोषणा गरेपछि ‘प्रसाद २’ लाई निर्देशन गर्ने निर्देशकको खोजी भयो । निर्माता सुभाष थापाले निर्देशकमा सौरभ चौधरीलाई तय गरेका थिए । उनले स्क्रिप्टसँगै कास्टिङको काम समेत हेरे । यद्यपि निर्माण टिमसँग क्रिएटिभ डिफरेन्सेस भएपछि सौरभको सट्टा  ‘प्रसाद २’ लाई सुदर्शन थापाले निर्देशन गर्ने भएका हुन् ।

पछिल्लो समय लभ स्टोरी फिल्ममा रमाउँदै आइरहेका सुदर्शनले सोसल ड्रामामा फरक ढङ्गले प्रेमलाई प्रस्तुत गर्नेछन् । फिल्ममा विपिन कार्की , नम्रता श्रेष्ठ र निश्चल बस्नेतको अभिनय रहने छ । फिल्म दसैँ अगाडि नै छायांकनमा जाने तयारी छ । विश्वस्त स्रोत अनुसार फिल्म यसै वर्षको अन्त्यमा प्रदर्शन हुनेछ ।