ब्रेकिङ स्टोरी

‘लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ’

By खबरहब

June 09, 2022

काठमाडौँ- प्रतिनिधि सभामा नेकपा एमालेका सांसद नारायण प्रसाद खतिवडाले फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतामाथि प्रहरी दमन भएको बताएका छन् । 

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले नुवाकोटका जनतामाथि अन्याय भएको जनाए । 

‘यही जेठ महिनाको २४ र २५ गते नुवाकोटको ककनी र धादिङको धुनिवेशीको बिचमा बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको छ,’ संसद्‌मा उनले भने, ‘स्थानीय चुनावमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ ।’ 

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले हालै सम्पन्न स्थानीय तह चुनावमा लौरो चिन्हमा चुनाव लडेका थिए । शाह काठमाडौँ महानगरको प्रमुख भएपछि फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतामाथि लौरो बजारिएको उनले बताएका हुन् । 

‘फोहोर व्यवस्थापनको नाममा १७ वर्ष अगाडिदेखि नुवाकोटमा जुन बेथिति भएको छ त्यसको व्यवस्थापन गरेर, स्थानीय जनताको जायज माग सुनेर त्यो पुरा गरेर फोहोर व्यवस्थापन गर्ने व्यवस्था होस्,’ सांसद खतिवडाले भने ।