फाइल फोटो

समाचार

पहिरोका कारण अवरुद्ध भएको काठमाडौं-मुग्लिन सडक सञ्चालन 

By खबरहब

June 09, 2022

काठमाडौँ – पहिरोका कारण अवरुद्ध भएको काठमाडौं- मुग्लिन सडक सञ्चालन भएको छ । पृथ्वी राजमार्गको मुग्लिन नजिकै इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलामा गएको पहिरो सफा गरेसँगै सडक सञ्चालनमा आएको हो । बुधबार राति सवा ११ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध भएको थियो ।

बिहीबार बिहानबाट पहिरो हटाउन सुरु गरिएको र मध्याह्न १२ बजे हटाइएकोले अहिले दुईतर्फी नै सवारी चलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले बताए । यो सडक राजधानी काठमाडौँलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण अचेल यो सडकखण्ड पटक/पटक अवरूद्ध हुने गरेको छ ।

पहिरो सफा भए पनि रातिदेखि नै बाटोमा सयौँ गाडी रोकिएकाले यातायात सहज रूपमा चल्न केही समय लाग्ने भएकाले आफ्नो लेनअनुसार सवारी चलाउन चालकहरूलाई प्रहरीले आग्रह गरेको छ ।