काठमाडौँ- अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बन्दुक नियन्त्रण गर्नेसम्बन्धी विधेयक पारित गरेको छ ।
टेक्सास र न्यूयोर्क राज्यमा हालै भएका गोलिकाण्डपछि पेस गरिएको यो विधेयकको पक्षमा २२३ र विपक्षमा २०४ मत खसेको अमेरिकी अखबार न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।
यस विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको बताइएको छ । यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोलीगठ्ठा बिक्री निषेधका लागि अनुमति दिएको छ ।
अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित भएर राष्ट्रपतिले हस्ताक्षार गर्नुपर्छ । तर, माथिल्लो सदनबाट यस विधेयक पारित हुने सम्भावन कम रहेको बताइन्छ ।
तर, सदनमा विधेयक पारित भएपछि डेमोक्र्याटिक पार्टीका सांसदहरूलाई मतदातालाई सकरात्मक सन्देश पठाउने मौका मिल्नेछ । यसै वर्षको नोभेम्बर महिनामा अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ ।