आज जेठ २६, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन ९, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
भारतमा कोरोना भाइरसका संक्रमित ह्वात्तै बढे
भारतमा बिहीबार एकै दिन ७ हजार २ सय ४० जनामा कोभिड संक्रमित देखिएका छन् । यो अघिल्लो महिनाको तुलनामा ४० प्रतिशत बढी हो ।महाराष्ट्र र केरलामा संक्रमण दर ह्वात्तै बढेको छ । तीन महिनापछि पहिलो पटक बुधबार दैनिक कोभिड संक्रमित दर ५ हजार नाघेको थियो । भारतमा अहिले ३२ हजार ४९८ जना सक्रिय संक्रमित छन् । केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा दैनिक संक्रमण दर १ दशमलब ३१ प्रतिशत छ ।साप्ताहिक संक्रमण दर भने २ दशमलब १३ छ ।
पछिल्लो २४ घन्टामा कोभिडबाट ८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ७२३ पुगेको छ । भारतमा अहिलेसम्म कोभिडबाट ४ करोड ३१ लाख ९७ हजार ५२२ संक्रमित भएका छन् । बुधबार महाराष्ट्रमा २ हजार ७ सय १ जनामा कोभिड देखिएको थियो । यो संख्या २५ जनवरीपछि कै उच्च हो । संक्रमितमध्ये कम्तीमा ४२ प्रतिशत मुम्बईका रहेका छन् । यसैबीच भारतमा हवाई यातायातको नियामक निकायले नयाँ निर्देशन जारी गर्दै सबै हवाई यात्रीहरूले उडानभरि नाक र मुख छोपिने गरी मास्क लगाउनु अनिवार्य रहेको जनाएको छ ।
कोभिड–१९ सङ्क्रमण दरमा कमी आएसँगै जहाजमा भएका यात्रुहरूले मुखमा मास्क नलगाएर कोभिड नियमलाई हल्का लिन थालेपछि सरकारी उक्त निकायले उडानका समय मास्कलाई सुरक्षित लगाइराख्न निर्देशन गरेको हो । नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको निर्देशनमा विमानस्थल परिसरमा पनि मास्क अनिवार्य गरिएको छ । नयाँ निर्देशनले भारतमा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि मास्को महत्वलाई मान्यता दिएको हो ।
पाकिस्तानमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा २२ जनाको मृत्यु
पाकिस्तानको बालोचिस्तानको किला सइफुल्ला नजिकै यात्रुवाहक भ्यान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब १०० फिट तल खोल्सामा भरी दुर्घटना भएको र घटनामा परी पाँच बालबालिका, पाँच महिला र ११ पुरूष गरी २२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका उप–आयुक्त हाफिज मुहम्मद कासिमले बताए ।
दुर्घटनामा परी एक बालक घाइते भएका छन् भने उनको क्वेटास्थित एक अस्पतालमा उपचार भइरहेको छ । पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले सो घटनाप्रति दुःख व्यक्त गर्दै घाइते व्यक्तिहरूको पर्याप्त उपचार गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । उनले घटनाबारे अनुसन्धान गर्न र भविष्यमा यस खालका दुर्घटना हुन नदिन आवश्यक कदम चाल्न स्थानीय अधिकारीलाई निर्देशन दिएका छन् ।
क्यालिफोर्नियाका मरुभूमिमा अमेरिकी मरिन कोरको लडाकु विमान दुर्घटनाग्रस्त
अमेरिकाको क्यालिफोर्निया राज्यमा लडाकु विमान दुर्घटनामा परेको छ । अमेरिकी फौजको मरिन कोरमा तैनाथ भी २२ ओस्प्रे लडाकु विमान दक्षिणी क्यालिफोर्नियाको मरूभूमिमा दुर्घटनाग्रस्त भएको हो । उक्त विमानमा कुनै आणविक सामग्री भने नभएको बताइएको छ ।
प्रवक्ताका अनुसार दुर्घटनामा कुनै हताहतीको पुष्टि भने भएको छैन । यद्यपि स्थानीय समाचार माध्यमहरूले मरिन कोर विमानमा सवार कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन् । क्यालिफोर्नियाको सान डिएगो सहरबाट बाहिर रहेको तेस्रो मरिन एयरक्राफ्ट विङको एउटा विमान मेक्सिकोको सीमाबाट करिब ३० माइल उत्तरमा रहेको राजमार्ग ७८ र ग्लामिस सहर नजिकै दुर्घटनाग्रस्त भएको नौसेना वायु सेवा सुविधा एल सेन्ट्रोले समेत आफ्नो फेसबुक पेजमा पुष्टि गरेको छ ।
यसअघि सो विमानमा आणविक सामग्री भएको हुनसक्ने चिन्ता उत्पन्न भएको थियो तर मरिन कोरले पछि प्रतिक्रिया दिँदै सो अनुमानलाई खारेज गरेको विज्ञप्तिमा जनाइएको छ ।
इमरान खानको पार्टीले पाकिस्तानमा आन्दोलन चर्कायो
पूर्वप्रधानमन्त्री एवम् इमरान खानले पाकिस्तान तहरीक–ए–इन्साफ-पिटिआई) का अध्यक्ष इमरान खानले ‘आजादी मार्च’ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई रोक्न शहबाज सरिफ नेतृत्वको सरकारलाई चुनौती दिएका छन् । बानी गालामा वकिलहरूको भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खानले आफ्नो पार्टीका सदस्यहरूलाई जेलमा हालियोस् वा अन्य रणनीति अपनाइयोस् पिटिआईको सरकारविरुद्धको आन्दोलन नरोकिने बताए ।
‘उनीहरूले हामीलाई जसरी यातना दिए त्यो मार्शल लको युगमा पनि देखिएको थिएन’ अप्रिलमा प्रधानमन्त्रीको कार्यालयबाट हटाइएका खानले आन्दोलनलाई रोक्न र आफूलाई जेलमा हाल्न सरकारले खोजिरहेको बताउँदै उनले भने । आफूलाई जेलमा हाले पनि वा अन्य उपाय अपनाए पनि आन्दोलन नरोकिने दृढता पूर्वप्रधानमन्त्री खानले व्यक्त गरे । उनले आफूलाई जेलमा हाल्ने योजना बनाइएको बताए पनि चुनावको मिति घोषणा नभएसम्म आन्दोलन जारी रहने उल्लेख गर्दै आफूहरूमाथि सरकारले षड्यन्त्र गरेको आरोप लगाए ।
वर्तमान सरकारले देशको भविष्य अन्धकार पारेको पनि उनले बताए । यसैबीच, पाकिस्तान सरकारले तत्काल चुनाव गराउन अस्वीकार गर्दै आफ्नो कार्यकाल पूरा गर्ने बताएको छ ।
इरानमा भवन भत्किँदा दुई जनाको मृत्यु
इरानमा एउटा भवन भत्किँदा दुई जनाको मृत्यु भएको छ । मुलुकको पश्चिमा रहेको केरमानशाह प्रान्तमा तीन तले भवन भत्केको हो । ग्यास विस्फोटको कारणले दुर्घटना भएको बताइएको छ । केरमानशाहको पावेह काउन्टीको नौसुद सहरमा ग्यास विस्फोटका कारण तीन तले भवन भत्किएको राज्य समाचार एजेन्सी इर्नाले जानकारी दिएको छ । ‘अहिलेसम्म दुईको ज्यान गइसकेको छ, चार जना घाइते भएका छन् र कम्तीमा एक जना बेपत्ता छन्,’ राष्ट्रिय आपतकालीन सेवाका प्रवक्ता मोजताबा खालेदीले सरकारी टेलिभिजनलाई बताएका छन् ।
गत मे २३ मा दक्षिणपश्चिमी खुजेस्तान प्रान्तको अवदान सहरमा निर्माणाधीन १० तले भवन भत्किँदा ४३ को मृत्यु भएको थियो । पछिल्लो समय इरानमा भवन भत्किने दुर्घटनाहरू बढेको बताइएको छ ।
रुसले आक्रमण थालेयता युरोपभर झण्डै ५ लाख युक्रेनी शरणार्थीका रुपमा दर्ता
रूसले गत फेब्रुअरी २४ मा आक्रमण सुरु गरेयता युरोपभर झण्डै पाँच लाख युक्रेनी नागरिक शरणार्थीको रूपमा दर्ता भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्र शरणार्थी निकाय युएनएचसिआरले भनेको छ, ‘युक्रेन युद्धले विश्वकै सबैभन्दा ठूलो मानव विस्थापन संकट निम्त्याएको छ’। युक्रेनी स्थितिबारे निकायको डेटा पोर्टलमा अद्यावधिक तथ्याङ्कले युद्धग्रस्त युक्रेनबाट कूल ४८ लाख १६ हजार ९२३ युक्रेनी शरणार्थीको रूपमा दर्ता भएको देखाएको छ ।
युएनएचसिआरको तथ्याङ्कले युक्रेनबाट ७३ लाखभन्दा बढी मानिस जुन ७ सम्ममा सीमा पार गरेको रेकर्ड गरिएको छ । उक्त तथ्याङ्कले देखाएअनुसार अरु २३ लाखभन्दा बढी मानिसहरू स्वदेश फिर्ता भएका छन् । विदेश पलायन भएकामध्ये ९० प्रतिशत महिला र बालबालिका रहेको राष्ट्रसङ्घले बताएको छ । सैनिक सेवाका लागि योग्य १८ देखि ६० वर्ष उमेर समूहका पुरुषलाई देशबाट बाहिर जान दिइएको छैन । युक्रेनबाट भागेकाहरूबाहेक संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय बसाइँ सराइ सङ्गठनले अनुमान गरेअनुसार ८० लाखभन्दा बढी मानिसहरू यस आक्रमणसँगै स्वदेशमा नै आन्तरिक विस्थापित भएका छन् ।
युक्रेनबाट बाहिर निस्केका आधाभन्दा बढी छिमेकी पोल्यान्डमा आएका छन् । पोल्यान्डमा ३८ लाख मानिसहरूले शरण लिएकोमा झण्डै आधा स्वदेश फर्किएका छन् । युएनएचसिआरले पोल्यान्डमा ११ लाख ५० करोड युक्रेनीले शरणार्थीको रूपमा नाम दर्ता गरेको उल्लेख गरेको छ । पोल्याण्डबाहेक हंगेरी, रोमानिया, स्लोभाकिया र मोल्डोभाजस्ता अन्य छिमेकी देशहरूमा पनि लाखौँ मानिसहरू प्रवेश गरेका छन् । ती देशमा हजारौँ युक्रेनीले शरणार्थीका लागि आवेदन दिएका छन् । युरोपका अन्य देशहरूमध्ये जर्मनीमा झन्डै सात लाख ८० हजार, चेक गणतन्त्रमा झन्डै तीन लाख ६७ हजार र स्पेनमा एक लाख १८ भन्दा बढी युक्रेनीले शरणार्थीका रूपमा आवेदन दिएका छन् । अन्य युरोपेली देशहरूमा पनि हजारौं शरणार्थीले निवेदन दर्ता गरेको बताइएको छ ।
सी जिन्पिङको सत्तामा पुग्ने तयारी
चिनियाँ राष्ट्रपति सी जिन्पिङ तेस्रोपटक पुनः सत्तामा पुग्ने तयारीमा रहेका बेला चीन कोभिड–१९ भन्दा पहिलेको जस्तो अवस्थामा नरहेको अधिकारीहरूले बताएका छन् । सन् २०१८ मा चीनको नेशनल पिपुल्स कङ्ग्रेसले राष्ट्रपतिको दुई कार्यकालको सीमा हटाउने प्रस्ताव अनुमोदन गरेपछि सीलाई अब आजीवन प्रभावकारी रूपमा सत्तामा रहन सक्ने बाटो खुलेको जियोपोलिटिकल इन्फो डटले जनाएको छ ।
विश्व महाशक्ति राष्ट्र बन्ने चीनको चाहना गतिहीन भएको छ तर सर्वोच्च नेता सीले कीर्तिमानी तेस्रो कार्यकालको सत्ता सुनिश्चित गर्ने मौका खोजिरहेका छन् । यसैवर्ष हुने चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको मिति घोषणा गरिएको छैन तर मिति घोषणा भएसँगै सीको पुनः सत्तारुढ हुने चाहना अभिव्यक्त हुने अपेक्षा गरिएको छ ।
बन्दुक नियन्त्रण गर्ने विधेयक अमेरिकाको तल्लो सदनबाट पारित
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभसले बन्दुक नियन्त्रण गर्नेसम्बन्धी विधेयक पारित गरेको छ । टेक्सास र न्यूयोर्क राज्यमा हालै भएका गोलिकाण्डपछि पेस गरिएको यो विधेयकको पक्षमा २२३ र विपक्षमा २०४ मत खसेको अमेरिकी अखबार न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।
यस विधेयकले अर्धस्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको बताइएको छ । यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोलीगठ्ठा बिक्री निषेधका लागि अनुमति दिएको छ । अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित भएर राष्ट्रपतिले हस्ताक्षर गर्नुपर्छ । तर, माथिल्लो सदनबाट यस विधेयक पारित हुने सम्भावना कम रहेको बताइन्छ ।
तर, सदनमा विधेयक पारित भएपछि डेमोक्र्याटिक पार्टीका सांसदहरूलाई मतदातालाई सकारात्मक सन्देश पठाउने मौका मिल्नेछ । यसै वर्षको नोभेम्बर महिनामा अमेरिकामा मध्यावधि निर्वाचन हुँदैछ ।