अन्तर्राष्ट्रिय

भारतमा अर्को महिना राष्ट्रपतिय निर्वाचन हुने

By खबरहब

June 09, 2022

काठमाडौं– भारतमा अर्को महिना राष्ट्रपतीय निर्वाचन हुने भएको छ । यो वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि भारतीय निर्वाचन आयोगले जुलाई १८ को मिति घोषणा गरेको भारतीय समाचार संस्था इण्डियन एक्सप्रेसले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार चुनावसम्बन्धी औपचारिक सूचना जुन १५ मा प्रकाशित गरिनेछ । त्यस्तै, जुन २९ सम्म मनोनयन दर्ता गर्ने समय तोकिएको छ । त्यस्तै, जुलाइ १८ मा निर्वाचन हुनेछ भने आवश्यक परेको खण्डमा जुलाई २१ बाट मतगणना सुरु हुने जनाइएको छ ।

साथै मतदान गर्ने बेला कोरोना भाइरसविरुद्ध लागू सबै सतर्कता अपनाइने आयोगले जनाएको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल यही २४ जुलाइमा समाप्त हुँदैछ । भारतीय संविधानको धारा ६२ अनुसार राष्ट्रपतिको कार्यकाल सकिनुअगावै नयाँ राष्ट्रपति चयन गर्नुपर्ने प्रावधान रहेको बताइएको छ ।

भारतमा निर्वाचित प्रतिनिधिहरुले राष्ट्रपति चयन गर्न मतदान गर्ने व्यवस्था छ । यसअनुसार भारतको दुबै सदनका सांसद्हरु एवम् सबै राज्यका विधानसभाका जनप्रतिनिधिहरुले राष्ट्रपति चयनका लागि मतदान गर्दछन् ।