प्रतिकात्मक तस्वीर- न्यू योर्क टाइम्स

अन्तर्राष्ट्रिय

इजरायलको भ्रमण गरेको भन्दै पाकिस्तानमा पत्रकारको जागिर खोसियो

By खबरहब

June 09, 2022

काठमाडौँ– इजरायलको भ्रमण गरेको भन्दै पाकिस्तानको टेलिभिजन कर्पोरेशन पीटीभीले एकजना पत्रकारलाई बर्खास्त गरेको छ ।

किस्तानी मूलका अमेरिकीहरुको प्रतिनिधिमण्डलबाट इजरायलको भ्रमणमा गएको भन्दै पीटीभीले पत्रकार अहमद कुरैशीलाई बर्खास्त गरेको पाकिस्तानी सूचनामन्त्री मरियम औरङजेबले बताइन् ।

उनी निजी भ्रमणमा त्यहाँ गएको र पाकिस्तानको विदेश मामिला मन्त्रालयले उनको भ्रमणको निन्दा गरेको समेत जनाइएको छ । समाचारमा जनाइएअनुसार पाकिस्तानबाहिर सञ्चालित एक गैर सरकारी संस्थाले आयोजना गरेको भ्रमणमा उनी इजरायत पुगेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पाकिस्तान प्यालेस्टाइनको पक्षमा अडिग नै रहेको बताउँदै सूचनामन्त्री औरङजेबले पाकिस्तानी जनताको भावनाविरुद्ध जान नहुने समेत बताइन् ।

प्यालेस्टाइनसँग मध्यपूर्वमा सार्वभौमिकताको विवादमा रहेको इजरायललाई पाकिस्तान लगायत बहुसंख्यक मुसलमान धर्मावलम्बी रहेका मुलुकहरुले सार्वभौम मुलुकको मान्यता समेत नदिएको बताइन्छ । यस्ता मुलुकले आफ्ना नागरिकलाई इजरायलमा जान प्रतिबन्ध लगाएका छन् ।