अन्तर्राष्ट्रिय

इजरायलविरुद्ध युद्ध लडिरहेको ‘पीआईजे’को नालीबेली

By हिमाल कोइराला

August 09, 2022

काठमाडौँ :  इजरायली सुरक्षा फौज (आईडीएफ)ले गत शुक्रबारयता प्यालेस्टाइनको गाजा क्षेत्रमा जारी राखेको आक्रमण बन्द गरेको छ । इजिप्टको मध्यस्थतामा इजरायली र प्यालेस्टाइनी पक्षबीच युद्धविराम गर्ने सहमति जुटेसँगै गाजामा हमला रोकिएको हो । आईडीएफले शुक्रबार गाजा पट्टीमा प्यालेस्टिानियन इस्लामिक जिहाद (पीआईजे) विरुद्ध अपरेशन ‘ब्रेकिङ डन’ नामक सैन्य कारवाही शुरु गरेको थियो ।

गाजा क्षेत्रमा आईडीएफ र हमास, पीआईजेजस्ता लडाकु समूहबीच नियमितजसो हिंसात्मक घटनाहरु हुँदै आएका छन् । गत वर्ष पनि इजरायली र प्यालेस्टाइनी पक्षबीच ११ दिन सम्म हिंसा भड्किएको थियो ।

पछिल्लो इजरायली कारवाहीमा पीआईजेका दुई शीर्ष कमाण्डरसहित ५१ जनाको मृत्यु भएको छ । दक्षिणी गाजा पट्टी सहर रफाहमा भएको इजरायली हवाई हमलामा परी आफ्ना वरिष्ठ कमाण्डर खालिद मन्सुरको मृत्यु भएको प्यालेस्टिनी इस्लामिक जिहादले आइतबार पुष्टि गरेको थियो ।

त्यसअघि शुक्रबार आईडीएफ ले उत्तरी गाजामा इस्लामिक जिहादका अर्का वरिष्ठ कमाण्डर तैसिर जबारी हवाई हमलामा मारिएको पुष्टि गरेको थियो । सन् २०१९ मा यस समूहका शीर्ष नेता बहा अबु अल अता मारिएपछि जबारीले उनको स्थानमा समूहको सैन्य परिषद्को सदस्यता प्राप्त गरेका थिए ।

सन् २०२१ मा इजरायलसँग भएको युद्धमा जबारीले पीआईजेका लडाकुहरुको नेतृत्व गरेका थिए । त्यसबेला उनले इजरायली सेनाविरुद्ध ट्याङ्कभेदी क्षेप्यास्त्र आक्रमण गर्ने तयारी गरिरहेको इजरायलले दाबी गरेको थियो ।

प्यालेस्टाइनी राज्यले पूर्वमा वेस्ट ब्याङ्क र पश्चिममा गाजा क्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । वेस्ट ब्याङ्कमा महमुद अब्बासको नेतृत्वमा प्यालेस्टाइनी सरकार रहेपनि वेस्ट ब्याङ्कसँग सीमा नजोडिएको गाजा क्षेत्रमा भने इस्लामिक लडाकु समूह हमासको शासन रहेको छ ।

सन् २००७ मा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्यालेस्टाइनी राज्यबाट गाजा क्षेत्रमा हमासले शासन आफ्नो हातमा लिएको थियो । हमासले विपन्न गाजा क्षेत्रको राज्य सञ्चालनको जिम्मेवारी लिएको छ ।

यसकारण हमासको आक्रमणको स्तर सीमितमात्रै रहेको तर, पीआईजेसँग यस्तो कुनै दायित्व नरहेकाले पीआईजे र पीआईजेको सशस्त्र गुट अल कुद्स ब्रिगेड हमासभन्दा आक्रामक, उग्र र कठोर मानिन्छ ।

सन् २००७ मा गाजामा सत्ता हत्याएयता हमास समूहले प्रायः पीआईजेको सहयोगमा इजरायलविरुद्ध चारवटा युद्ध लडिसकेको छ । यद्यपि यस्ता युद्धहरु छोटो समयका लागि मात्रै हुँदै आएका छन् ।

हमासले इजरायलसँगको युद्धविराम पालना गरेपनि पीआईजेले हमासको शक्तिलाई कमजोर देखाउन हमासलाई थाहै नदिई इजरायली भूमितर्फ रकेट आक्रमण गर्ने गरेको बताइन्छ ।

यद्यपि यस समूहले इजरायली भूमितर्फ रकेट आक्रमणको जिम्मेवारी कबोल गर्दैन । इजरायलले भने गाजा क्षेत्रबाट प्रहार हुने रकेट आक्रमणका लागि गाजा क्षेत्रमा शासन चलाइरहेको हमासलाई नै जिम्मेवार ठह¥याउने गरेको छ । यहीकारण हमास र पीआईजेबीचको सम्बन्ध अत्यन्त जटिल, संवेदनशील रहेको विश्लेषण गरिन्छ ।

पीआईजे र पीआईजेको सशस्त्र गुट अल कुद्स ब्रिगेड समूहले नियमितजसो इजरायली भूमितर्फ रकेट दाग्ने गरेका छन् । पीआईजेको क्षमता हमासभन्दा कम सबल रहेको र पीआईजेका लडाकुहरुको संख्या पनि हमासको भन्दा निकै कम रहेको बताइन्छ ।

तर, इजरायलको क्षेत्रीय प्रतिद्वन्द्वी इरानसँग पीआईजेको प्रत्यक्ष सम्बन्ध रहेको बताइन्छ । इरानले यो समूहलाई आर्थिक एवम् सैनिक सहयोग गर्दै आएको छ । इरानले यस समूहका लडाकुहरुलाई तालिम, आर्थिक सहयोग एवम् हतियार निर्माणको प्रशिक्षण दिने गरेको छ । यद्यपि यो समूहले गाजा क्षेत्रमा नै हतियारहरुको निर्माण गर्दै आएको बताइन्छ ।

पछिल्ला केही वर्षयता पीआईजे र यस समूहको सशस्त्र शाखा अल कुद्स ब्रिगेडले इजरायली भूमिमा रकेट आक्रमणलाई तीव्रता दिइरहेको छ । पछिल्ला केही वर्षमा यो समूहसँग हमासकै हाराहारीमा हतियारको सञ्चिती रहेको अनुमान गरिन्छ । यो समूहसँग गाजाबाट इजरायलको महत्वपूर्ण सहर एवम् आर्थिक राजधानी तेल अभिभसम्म मार हान्न सक्ने रकेट क्षमता रहेको छ ।

सन् १९८१ मा इजरायलको विनाश र प्यालेस्टाइनी भूमिमा इस्लामिक राज्यको स्थापनाको उद्देश्यले पीआईजेको स्थापना भएको हो । यो समूहलाई इजरायलसहित अमेरिकी विदेश मन्त्रालय, युरोपेली युनियन र अरु मुलुकका सरकारहरुले आतंककारी समूहको सूचीमा राखेका छन् ।

गाजाबाट सक्रिय रहेपनि यो समूहको नेतृत्व इरानको साझेदार सिरियाको राजधानी दमास्कस र लेबनानको राजधानी बेरुतमा समेत सक्रिय रहेको र इरानसँग निकट सम्बन्ध रहेको बताइन्छ । शुक्रबार इजरायलले सैन्य कारवाही थाल्ने बेला समेत यस समूहका शीर्ष नेता जियाद अल नकालाहले इरानको राजधानी तेहरानमा वरिष्ठ इरानी अधिकारीसँग भेटवार्ता गरेका थिए ।

(स्रोत : एपी)