फाइल तस्वीर

समाचार

काठमाडौँबाट फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडीमाथि तोडफोड 

By खबरहब

August 09, 2022

काठमाडौँ – गए राति काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि प्रयोग गरिने गाडीमाथि तोडफोड भएको छ ।

बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा परिचालन हुने काठमाडौँ महानगरपालिकाका दुई वटा डोजर र एउटा एस्काभेटर तथा काठमाडौँबाट फोहर बोकेर गएका गाडीमाथि आलेटारनजिक पार्किङ गरेर राखिएको अवस्थामा तोडफोड भएको बताइएको छ ।

गाडी तोडफोड भएसँगै आज काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन काम प्रभावित भएको छ । घटनाको बारेमा जानकारी लिनका लागि  स्थानीय र प्रहरीबाट अहिले मुचुल्का उठाउने काम भइरहेको छ भने जिल्ला प्रहरी कार्यालय नुवाकोट र धादिङलाई क्षतिको विवरण पठाउन पत्राचार गरेको कामपा वातावरण विभाग प्रमुख सरिता राईले जनाकारी दिइन्।

तोडफोड गरिएका सवारी तथा उपकरणहरूमध्ये क्याम्पिङ गर्ने र फोहर पेल्ने काममा प्रयोग हुने डोजर र एक्साभेटर चलाउनै नसकिने गरी फोडिएको प्रमुख राईले जानकारी दिइन्।  यस अघि पनि ल्याण्डफिल साइटका स्थानीयले पटक पटक अवरोध गर्दै आएपछि कामपा र स्थानीय बीच १८ बुँदे सहमति भएको थियो । सहमति अनुसार चरणबद्ध रूपमा कामपाले काम गरिरहेको पनि राईको भनाइ छ ।