तस्वीर- खामाप्रेस अफगानिस्तान

अन्तर्राष्ट्रिय

तालिबानद्वारा अफगानिस्तानमा रेडियो पत्रकार पक्राउ

By खबरहब

August 09, 2022

काठमाडौँ– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानका लडाकुले मुलुकको उत्तरी फर्यब प्रान्तमा एकजना पत्रकारलाई नियन्त्रणमा लिएका छन् ।

तालिबानको गुप्तचर एकाईले फर्यब प्रान्तमा रेडियो पत्रकारका रुपमा कार्यरत अलाउद्दिन एर्किनलाई नियन्त्रणमा लिएको हो ।

उनलाई पक्राउ गरी केरकार गरिएको अफगान पत्रकारहरुको समूह अफगानिस्तान जर्नलिष्ट सेन्टरले जनाएको छ ।

उनलाई पक्राउ गर्नुको कारणबारे तालिबानका अधिकारीले कुनै जानकारी नदिएको उनी कार्यरत सलाम वतनदर रेडियोले जानकारी दिएको छ ।

अफगानिस्तानबाट प्रकाशित हुने खामा प्रेसका अनुसार प्रान्तका गुप्तचर उपप्रमुख तल्हाको नेतृत्वमा आएको समूहले उनलाई पक्राउ गरेको हो ।

गत वर्षको अगष्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता हत्याएयता त्यहाँ महिला, बालबालिका, धार्मिक अल्पसङ्ख्यक, पत्रकार एवम् अन्य समुदायका मानिसहरुमा ज्यादी एवम् उनीहरुको मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएको बताइन्छ ।