अन्तर्वार्ता

रिंगटा लागेपछि तुरुन्तै डाक्टरसँग परामर्श गर्नुपर्छ

By विना न्यौपाने

September 09, 2022

धेरैले रिंगटा लाग्नुलाई सामान्यरुपमा लिने गर्दछन् । तपाईंले पनि रिंगटालाई सामान्य रुपले लिने गर्नु भएको होला । तर, यो गम्भीर रोगको कारण पनि हुनसक्छ । त्यसैले रिंगटालाई हेलचेक्राइ गर्नुको सट्टा यसको बेलैमा उपचार र कारण पत्ता लगाउन आवश्यक हुन्छ । मानिसमा कुनै रोग लागेको छ भने त्यसको कारण रिंगटा लाग्छ । कुनै स्थानमा बसेर उठ्दा शरीर घुमाएको जस्तो हुने, बस्दा र हिँड्दा पनि शरीर घुमेको जस्तो हुने, आँखा धमिलो हुने, शरीर कमजोर जस्तो हुने लगायतका समस्या कुनै न कुनै रोगका लक्षण हुन् । यसै बारेमा जनरल फिजिसियन डा. प्रेम पाण्डेसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

गर्मी बढेसँगै रिंगटा लाग्ने समस्या धेरै बढेको छ, त्यसलाई कसरी बुझ्ने ? साधारण भाषामा हामी रिंगटा लाग्नु भन्छौँ । तर, धेरै कारणले रिंगटा चक्कर लागेको हुन सक्छ । हाम्रो शरिरमा कसैलाई प्रेसर हाई भएको कारणले पनि चक्कर लागेको हुन्छ । कसैलाई कान, आँखा सम्बन्धीको समस्याले पनि हुन सक्छ । कसैलाई चिन्ताले पनि चक्कर लाग्छ । कसैलाई घाँटीको हड्डी खिएर पनि लाग्छ । त्यसको लागि बिरामीलाई अगाडि लिएर जाँच गरेर मात्र के कारणले लागेको हो भनेर पत्ता लगाउन सकिन्छ ।

यो आफूलाई हुँदै छ भनेर पहिला नै थाहा पाउन सकिन्छ कि सकिदैन ? पहिला नै त थाहा पाउन सकिदैन । तर, बेलाबेलामा चक्कर लाग्यो भने डाक्टरको परामर्श लिन सकिन्छ । पहिला त कारण पत्ता लगाउने यदि प्रेसरको कारणले हो भने जिवनजल, चिनिपानी ग्लुकोजपानी बनाएर खान सकिन्छ । अरु कारण हो भने अस्पताल नै जानु पर्दछ ।

कस्तो व्यक्तिमा यो समस्या धेरै देखा परेको छ ? ६० बर्ष माथिका मानिसमा कमजोरीका कारणले पनि धेरै देखा पर्दछ ।

गर्मीमा नै यो समस्या किन धेरै हुन्छ ? जाडोमा कम र गर्मीमा धेरे भन्ने त छैन । तर, कुनै कुनै रोगहरु गर्मीमा अलि सक्रिय हुने हुनाले त्यो हुनसक्छ । गर्मीमा धेरै झाडापखाला लाग्ने हुनाले यो कमन देखिएको हो । जसको ब्लड प्रेसर कम छ, उनीहरुलाई यो समस्या हुन्छ ।

उपचार पश्चात पनि यो दोहोरीने हुन्छ ? कुन रोगले गरेको हो त्यसको आधारमा भर पर्दछ । यदि बुढा बुढीको केसमा हेर्दा घाँटीमा हड्डी खिएको छ भने त्यसको उचित उपचार हुँदैन, त्यसलाई फिजियो थेरापीहरु गरेर उपचार गर्दा यो दोहोरीन सक्छ । कहिलेकाँही कानको सामस्या छ भने पनि दोहोरीन सक्छ ।

अस्पतालमा कसरी उपचार गरिन्छ ? हामी पहिला के कारणले हो पत्ता लगाउछौँ । कान, नाकको कारणले हो भने सम्बन्धित डाक्टरहरु समक्ष पुर्याउछौँ । त्यहि अनुरुप उपचार गछौँ । कसैलाई प्रेसर भएर, कसैलाई सुगरको मात्रा बढी भएर, कसैलाई ग्याष्ट्रिकको कारणले पनि हुन्छ । कसैलाई चस्माको पावर मिलेन भने पनि चक्कर लाग्छ । त्यसैले पहिला त के कारणले चक्कर लाग्यो त्यो पत्ता लगाएर मात्र उपचार गर्न सकिन्छ ।

समस्या नहोस भनेर यो मौसममा के गर्ने ? पानीमा नभिज्ने । मास्को प्रयोग गर्ने बाहिरका खाने कुराहरु नखाने र संकेत देखा पर्यो भने सम्बन्धित डाक्टरसँग परामर्श लिने गर्नुपर्छ ।

घरबाट निस्किदा के–के कुरामा ध्यान दिने त ? घरबाट निस्किदा बाहिरको खानाहरु नखाने । धेरै चिल्लो पिरो खाना नखाने, घाममा हिड्दा छाताको प्रयोग गर्ने, चस्मा लगाउने गर्नुपर्दछ । घरबाट नै खाानाहरु प्याक गरेर लाने र  बाहिर खानै पर्यो भो हाईजेनिक मेन्टेन गरेको ठाउँमा गएर खाने । चिल्लो पिरो भएका खाने कुराहरु नखाने । प्याक गरेका बाहिरका खानेकुराहरु नखाने गर्नुपर्छ ।

यो मौसममा कस्तो पानी खाने ? जारको पानी पनि अहिले राम्रो छैन । त्यसैले सकेमम्म तताएर खाने । यदि बाहिर जाँदा पनि बोतलमा बोकेर पानी पिउन सकिन्छ । अहिले पानीको कारणले फुड पोइजन सम्बन्धी धेरै समस्याहरु आएका छन् । त्यसैले शुद्ध पानी मात्र पिउने गर्नुपर्छ । चक्कर लाग्यो ढल्यो भने तुरुन्तै अस्पताल गएर उपचार गराउनु होला । पानी उमालेर मात्र खानुहोला । जथाभावी खाना नखानुहोला भन्न चाहन्छु ।