देश/प्रदेश

उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने

By खबरहब

September 09, 2022

खोटाङ- खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले उत्कृष्ट अंक ल्याएर एसईई उत्तीर्ण गर्ने एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्येबाट एसईईमा उत्कृष्ट अंकसहित उत्तीर्ण हुने एक जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको हो ।

गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले एसईईका उत्कृष्ट एक जना विद्यार्थीलाई विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने जानकारी दिएका हुन् । गाउँपालिकामा डाक्टर र इन्जिनियर उत्पादन गर्ने लक्ष्यका साथ विज्ञान विषयमा कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । गाउँपालिकाले अभिभावकसँगको समन्वयमा विद्यालय छनौट गरेर उत्कृष्ट विद्यार्थीलाई गाँस, वास र कपासको व्यवस्था सहित छात्रवृत्ति प्रदान गर्ने तयारी गरेको जनाएको छ ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एक वटा आवासीय विद्यालय सञ्चालनका लागि अध्ययन गर्न कार्यदल बनाउने घोषणा गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा सञ्चालित शुभम् फाउण्डेसनको मोडलमा आवासीय विद्यालय सञ्चालनका लागि कार्यदल बनाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । शुभम् फाउण्डेसनले विद्यार्थीलाई ‘गरी खान सिकाउने’ व्यवहारिक शिक्षाको अभ्यास गराउँदै आएको छ ।

 दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ‘दिप्रुङ चुईचुम्माको आव्हान, गुणस्तरीय शिक्षाको अभियान’ भन्ने नारा सहित अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ । हाजिरी जवाफ, निबन्ध लेखन, चकलेट दौड लगायतका प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्दै शुक्रबार दिवस समापन गर्ने गाउँपालिकाले जनाएको छ ।