समाचार

भक्तपुरमा इन्द्रजात्रा : आज साँझ सिद्ध पोखरीमा दीपावली हुने 

By खबरहब

September 09, 2022

भक्तपुर- भक्तपुरको सबैभन्दा ठूलो सिद्ध पोखरीमा शुक्रबार साँझ दीपावली हुँंदैछ । पोखरीमा भोलि शनिबार मेला लाग्नेछ ।

भक्तपुर नगरपालिका-१ दूधपाटीस्थित सिद्ध पोखरीमा प्रत्येक वर्ष इन्द्रजात्राको साँझ दीपावली र त्यसको भोलिपल्ट मेला लाग्ने गर्दछ । मेला भर्न भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतका नजिकका जिल्लाहरूबाट हजारौँ श्रद्धालु पोखरीमा पुग्ने गर्दछन् ।

स्थानीयको अगुवाइमा साँझ दीपावली गरिने चलन छ । पोखरीको चारैतिर तल र माथि गरी दुई तलमा लहरै दियो राखी दीपावली गरिन्छ । त्यसै पनि आकर्षित पोखरीमा साँझ दीपावली गरेपछि अझ यो आकर्षित देखिन्छ । त्यही कारण यो दृश्य हेर्न पोखरीमा भीड लाग्ने गर्दछ ।

स्थानीयका अनुसार त्यसका लागि झन्डै एक हजार पाँच सयभन्दा बढी दियो आवश्यक हुने जनाइएको छ । दीपावलीका लागि आवश्यक तेल भक्तपुर नगरपालिकाले दिने गर्दै आएको छ । स्वयंसेवकका रूपमा स्थानीय वडावासी खटिने गर्दछन् । दीपावलीका लागि स्वयंसेवक मात्रै एक सयभन्दा बढी खटिन्छन् ।

भक्तपुर नगरपालिका-१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले यो वर्ष पनि वडावासी नै स्वयंसेवकका रूपमा खटिने र आवश्यक तेल नगरपालिकाले व्यवस्था गर्ने जानकारी दिए ।