समाचार

स्याउ महोत्सव हुने 

By खबरहब

September 09, 2022

जुम्ला– जुम्लामा स्याउ महोत्सव हुने भएको छ । जुम्लाको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको स्याउको बजारीकरणका यही भदौ २७ र २८ गते तेस्रो जुम्ला स्याउ महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवले जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सहयोग पुग्ने आयोजक कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले बताए  । महोत्सवले उत्पादनको बजार विस्तारका साथै पर्यटन प्रवर्द्धन हुने आयोजकको विश्वास छ । दुई दिने महोत्सवमा विभिन्न प्रजातिका स्याउका साथै स्याउका परिकार राखिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

महोत्सवमा जुम्लामा उत्पादन हुने रेड र गोल्डेन डेलिसियस जातका स्याउका पनि परिकार विशेष आकर्षणका रूपमा रहने आयोजकको दाबी छ । सोही अवसरमा स्थानीय संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम पनि देखाइने भएको छ । जुम्ला हुने स्याउ महोत्सवमा  गायक प्रकाश सपूत आउने  बताइएको छ । 

यसअघि २०७५ मा पनि  पहिलो महोत्सव गरिएको थियो । २०७६ मा दोस्रो स्याउ महोत्सव भएको थियो ।