क्रिकेट

पाकिस्तानविरुद्ध श्रीलंकाकाे सानदार जित

By खबरहब

September 09, 2022

काठमाडौँ – टि-२० एसिया कप २०२२ को सुपर चारको अन्तिम खेलमा पाकिस्तानविरुद्ध श्रीलंकाले सानदार जित निकालेको छ ।

युएई शुक्रबार राति भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई पाँच विकेटले हराएको हो । योसँगै श्रीलंका सुपर चारमा शीर्ष स्थानमा हुँदै फाइनलमा प्रवेश गरेको । पाकिस्तानले दोस्रो स्थानमा रहँदै फाइनल खेल्ने भएको छ ।

जितको लागि १ सय २२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १७ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाका ओपनर पाथुम निसंकाले ४८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५५ रनमा अविजित रहे । निसंकाको यो लगातार दोस्रो अर्धशतक हो । भारतलाई हराउन निसंकाले ५२ रनको योगदान दिएका थिए ।

पाकिस्तानका मोहम्मद हसनैनले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । उस्मान कादिरले एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तान १९।१ ओभरमा १ सय २१ रनमा अल आउट भयो । पाकिस्तानका बाबर आजमले २९ बलमा २ चौकासहित सर्वाधिक ३० रनमा आउट भए ।

श्रीलंकाका वानिन्दु हसरंगाले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । मेहश थिक्सनाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । डेब्यू खेल खेलेका प्रमोद मदुशानले २.१ ओभरमा २१ रन खर्चेर २ विकेट लिए ।

आइतबार फाइनलमा उपाधिको लागि श्रीलंका र पाकिस्तानबीच नै प्रतिस्पर्धा हुनेछ । भारत र अफगानिस्तान भने सुपर चारबाटै बाहिरिएका थिए ।