राजनीति

चुनाव जितेर सोलुको विकासलाई पूर्णता दिन्छु : बलबहादुर केसी

By खबरहब

November 09, 2022

सोलुखुम्बु – सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका बलबहादुर केसीले आफूले थालेको माप्यको विकास निर्माण कार्यलाई पूर्णता दिनु आफ्नो कर्तव्य रहेको बताएका छन्।

माप्य दुधकोसी- ६ वाकुमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले माप्यसहित समग्र सोलुको विकासका लागि आफू क्रियाशील हुँदै आएको र बाँकी रहेका कार्यलाई पूर्णता दिने गरी काम गर्ने प्रतिबद्धता जनाए।

करिब दुई तिहाइ मत पाएको तत्कालीन केपी ओली नेतृत्वको सरकारले जनताको अधिकारलाई बन्चित गर्ने कार्य गरेको भन्दै आक्रोशित भएका उनले ठूलो त्याग र बलिदानीबाट प्राप्त राजनीतिक उपलब्धि र संविधानलाई नै नामेट पार्न ओली सरकार क्रियाशील भएको आरोप लगाए।

जनताको छोरा छोरी राष्ट्र प्रमुख बन्नेगरी बनाइएको संविधानलाई नै नामेट पारेर एकलौटी व्यवस्थाका मालिक ज्ञानेन्द्र शाहको दोस्रो रुप बन्न ओली खोजेको नेता केसीको भनाइ छ।

प्रतिगमनका सबै मतियारलाई परास्त गरी अग्रगामी नवीन सोच समुन्नत राष्ट्र बनाउने योजनाका साथ आफू क्रियाशील रहँदै आएको भन्दै उनले यसका लागि जनताको साथ र सहयोग आवश्यक पर्ने बताए।