राजनीति

पञ्चेश्वर र पश्चिम सेती परियोजना निर्माण सुरू : प्रधानमन्त्री

By खबरहब

November 09, 2022

बैतडी– प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत परियोजना निर्माण प्रकृया अघि बढिसकेको र पञ्चेश्वर परियोजना निर्माण सुरू भइसकेको बताएका छन् । बैतडीको पाटनमा बुधबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । 

सेती र महाकाली नदीमा उत्पादन भएको विद्युतले देशको अर्थतन्त्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका लागि भारत सरकार सकारात्मक देखिएकाले उक्त बहुउद्देश्यीय परियोजनाको काम आगामी सरकारले सुरू गर्ने प्रतिबद्धता जनाए । उनले विकास निर्माणका लागि आगामी ४ मङ्सिरमा हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन पनि आग्रह गरे । 

कार्यक्रममा सहभागी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी सरकार पनि वाम लोकतान्त्रिक गठबन्धनको बने सुदूरपश्चिमको विकासलाई प्राथमिकता दिने बताए ।

उनले बैतडीमा रहेको कृषि विज्ञान कलेज र भीमदत्त पोलिटेक्निकल कलेजको स्तरोन्नतिका लागि पहल गर्ने बताए । यसका साथै दोगडा केदार गाउँपालिकामा रहेको फस्फोराइड खानी उत्खनन, नेपाल-भारत सीमा नदी झुलाघाटमा पक्की पुल तथा पाटन नमुना सहर निर्माणका लागि पहल गर्ने बताए । 

यही मञ्चमा चुनावी आमसभा सम्बोधन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि यिनै आयोजना निर्माण गर्ने पार्टीको योजना रहेको बताएका थिए ।