राजनीति

गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका पाँच जना कारबाहीमा

By खबरहब

November 09, 2022

काठमाडौँ– नेपाली कांग्रेसले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका नेतासहित पाँच जनालाई कारबाही गरेको छ । उदयपुर निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सभापति रामकुमार राई, उनका प्रस्तावक लीलाराज दनुवार र समर्थक मीनकुमार दाहाललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो । 

अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार उदयपुरकै क्षेत्रीय प्रतिनिधि जयप्रसाद सुवेदी र निजका प्रस्तावक प्रदेश अधिवेशन प्रतिनिधि भरत कार्कीलाई पनि कारबाही गरिएको छ । 

कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ को उपधारा ४ (क) बमोजिम ५ वर्षका लागि पाँचै जनालाई सदस्यतासमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन निर्देश गरिएको ढुङ्गानाले बताए । 

पार्टीको नीतिविपरीत बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाको नामावलीसमेत अभिलेखबाट हटाइने कांग्रेसले जनाएको छ ।